काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा यही भदौ ३ गतेदेखि 'नाडा अटो शो २०२५' हुँदैछ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने यस शो सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको रुपमा रहँदै आएको छ ।
शोको तयारी स्वरुप यतिखेर भृकुटीमण्डपमा धमाधम स्टल बनाउने कामका लागि संरचनाहरू निर्माण भइरहेका छन्। अहिले हलभित्रका संरचना बनाउने काम अन्तिम चरणमा पुगेको छ।
शोलाई आकर्षक र व्यवस्थित बनाउन सजावटको काम पनि जारी छ। ब्यानरहरू राख्ने काम भइरहेका छन् भने हल क्रस गर्नका लागि फलामको भर्याङ पनि हालिएको छ।
‘गो फर मोर’ नारासहित आयोजना हुने यस वर्षको अटो शो केवल नयाँ गाडी हेर्ने ठाउँ मात्र नभई नेपालमा स्मार्ट, दिगो र भविष्यमुखी मोबिलिटीको प्रतीक बन्ने विश्वास लिइएको छ।
अटो शोको आकर्षणको रुपमा दीपलको उड्ने (फ्लाइङ) कार राखिने भएको छ । जुन कार हिजो शनिबार मात्र काठमाडौं आइपुगेको छ ।
शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक गरी ३५ कम्पनीहरूको सहभागिता रहनेछ।
प्रतिक्रिया दिनुहोस