काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि ४१ रनको जित निकालेको छ । लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई पराजित गरेको हो ।
सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी–२० र एक वान डे खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस