काठमाडौँ । सरकारले उखु किसानहरूलाई प्रोत्सहान, अनुदानवापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैया निकासा गरेको हो ।
उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले उक्त रकम निकासा गरेको हो । कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानलाई भुक्तानी गर्ने गरी निकासा गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो ।
यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैया प्रोत्साहन स्वरुप पाउँदै आएका थिए ।
कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भए ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
उखु किसानले यसअघि पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । तर, सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान हिसाब गरेर रकम निकासा गरेको हो ।
प्रतिक्रिया दिनुहोस