मोरङ । मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापान सिंह लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा थिए। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ रहेका उनी मृत्युको प्रतिक्षामा बस्न बाध्य भएका थिए।
यस पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी रिक्त गुरुङले घटना नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मासमक्ष पुर्याए। खबर पाएलगत्तै डा. शर्माले लिम्बुको घरमै पुगेर अवस्थाको जानकारी लिए र तत्काल काठमाडौं मेडिकल कलेजमा सम्पर्क गरी आवश्यक सबै उपचार निःशुल्क गर्ने व्यवस्था मिलाए।
डा. विजयमान सिंह कटुवाल र डा. सुरेश महर्जनको नेतृत्वमा भएको प्रत्यारोपण शल्यक्रियामा जापान सिंहलाई उनका ६० वर्षीय पिता धनप्रसाद लिम्बुले मिर्गौला दान गरे। सफल अपरेशनपछि अहिले लिम्बुको स्वास्थ्यमा सुधार भएको छ।
डा. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले अहिलेसम्म तलब–भत्ता लिएका छैनन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरबाट उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउने उनको पहल निरन्तर जारी छ।
उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन सञ्चालनमा ल्याइएको छ। त्यस्तै, हालै बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।
डा. शर्माले देखाएको यो मानवीयता "साँचो नेता भनेको जनताको अभिभावक हो" भन्ने सन्देश दिने उदाहरण बनेको छ। कठिन परिस्थितिमा मृत्यु पर्खिरहेका एक नागरिकलाई नयाँ जीवन दिने यस उदार कदमले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ।
प्रतिक्रिया दिनुहोस