काठमाडौं । मलेसिया जाँदा त्यहाँको गेन्टिङ आइल्याण्डबाट प्रभावित भएपछि आइएमई ग्रुपका संस्थापक हेमराज ढकालले चन्द्रागिरीमा केबलकार र रिसोर्टको परिकल्पना गरेका थिए । यो केबलकार आजका दिनमा काठमाडौं आउने पर्यटकलाई आकर्षित गर्ने थलो पनि हो । आन्तरिक र बाह्य पर्यटक मात्रै होइन, नेपाल आउने विदेशी अतिविशिष्ट पाहुना पनि एकपटक चन्द्रागिरी पुग्ने गरेका छन् ।
नेपाल एकीकरणका सुत्राधार पृथ्वीनारायण शाहको इतिहाससँग जोडिएको चन्द्रागिरीमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सञ्चालनमा ल्याएपछि यहाँको विकास तीव्र गतिमा अघि बढेको थियो । तर, गत भदौ २३ र २४ गते जेनजीका नाममा भएको आन्दोलनमा ढकाल दाजुभाइको व्यवसाय पनि आक्रमणको शिकार बन्यो ।
चन्द्रागिरीको परियोजना सफल भएपछि ढकाल दाजुभाइले सातै प्रदेशमा कम्तीमा एउटा केबलकार परियोजना सञ्चालन गर्ने योजना बनाए । यसका लागि काम पनि अघि बढाए । तर, जेनजी आन्दोलनका क्रममा चन्द्रागिरीमा मात्रै नभइ मौलाकालिका र पाथीभरामा निर्माणाधीन भएको परियोजनामा पनि आक्रमण भयो । जसका कारण सातै प्रदेशमा केबलकार सुरु गर्ने ढकालको सपनालाई धक्का दिएको छ ।

ढकालका अनुसार चन्द्रागिरीमा टिकट काउन्टरदेखि पसलमा तोडफोड र लुटपाट भएको छ । साथै केबलकार सञ्चालन हुने प्रणालीमा पनि क्षति पुगेको छ । हाल विदेशबाट मानिस ल्याएर परीक्षण भइरहेको र सञ्चालन कहिलेदेखि हुन्छ भन्ने टुंगो नलागेको ढकालले बताए ।
आइएमइएका अनुसार जेनजी आन्दोलनका क्रममा चितवनको मौलाकालिका केबलकारमा पनि ठूलो क्षति भएको छ । उक्त केबलकार कहिलेदेखि सञ्चालन हुनसक्छ भन्ने पनि अनिश्चित बनेको छ ।
चन्द्रागिरीमा केबलकारसँगै चन्द्रागिरी रिसोर्ट, जिप लाइन, वाल क्लाइमिङ, स्वीङ, साइकलिङ, स्काइ वाक, ३६० साइकलिङ र चिल्ड्रेन पार्क पनि सञ्चालनमा छन् । आन्दोलनका क्रममा भएको आक्रमणपछि यी सबै गतिविधि प्रभावित भएका छन् । साथै दसैँको अवसरमा हुने आर्थिक गतिविधि पनि ठप्प भएको छ ।
चन्द्रागिरीबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा, गणेश हिमाल, गौरीशंकर हिमाल, मनास्लु लगायत विभिन्न हिमश्रृखला तथा काठमाडौ उपत्यका वरीपरी रहेको मनोरम दृश्य समेतको अवलोकन गर्न सकिन्छ । साथै यहाँबाट धार्मिक पर्यटकका लागि धार्मिक पीठ भालेश्वर महादेवको मन्दिरमा आफुनो इच्छा बमोजिमको पूजापाठ गर्न सक्ने व्यवस्था छ ।

चन्द्रागिरी हिल्सका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा मात्रै केबलकार, रिसोर्ट, साहसिक गतिविधि र खाद्य र पेय पदार्थ बिक्रीबाट मात्रै एक अर्बको व्यापार गरेको थियो । जुन आव २०७९/८० को तुलनामा करिब १० प्रतिशतले बढी हो ।
चन्द्रागिरीमा वार्षिक करिब आठ लाख पर्यटक पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा सात लाख ६८ हजार पर्यटक पुगेका थिए । र, यो प्रत्येक वर्ष बढ्दो क्रममा रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ दैनिक औसतमा दुई हजार १०५ जनाले चन्द्रागिरी भ्रमण गरेका थिए । जुन आव २०७९/८० मा एक हजार ९६९, आव २०७८/७९ मा एक हजार ५६४, आव २०७७/७८ मा ५६९ र आव २०७६/७७ मा दैनिक औसत एक हजार २३६ चन्द्रागिरी पुगेका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा केबलकारको टिकट बिक्रीबाट मात्रै ५७ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो भने आव २०७९/८० मा ५२ करोड ४१ लाख, आव २०७८/७९ ३४ करोड ७३ लाख, आव २०७७/७८ मा ११ करोड २७ लाख र आव २०७६/७७ मा २८ करोड तीन लाख आम्दानी गरेको थियो ।

निजी क्षेत्रमाथिको आक्रमण चिन्ताजनक
महासंघका अध्यक्ष ढकाल भने आफ्नो व्यवसायमाथिको आक्रमणलाई मात्रै ध्यानमा नदिएर आन्दोलनका क्रममा समग्र निजी क्षेत्रमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । “प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुन्छ, यसपटक पनि त्यस्तै भयो, हामीलाई एउटा आन्दोलनमा एउटा व्यवसायमाथि आक्रमण हुने विषयभन्दा निरन्तरको प्रवृत्तिमा चिन्ता लागेको हो”, ढकालले एक अन्तरक्रियामा भनेका थिए ।
ढकालले सरकारले निजी क्षेत्रलाई शान्ति र सुरक्षा प्रदान गर्न नसकेकामा चिन्ता प्रकट गर्छन् । उनी निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा पु-याएको योगदानलाई गलत भाष्य निर्माण गरेर बदनाम गर्न खोजिएको पनि बताउँछन् ।
“आजका दिनसम्म निजी क्षेत्रले ठूलो योगदान गरेको छ, रोजगारी सृजनादेखि सरकारलाई राजस्व बुझाउनेमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, तर अझै पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन भएको छैन भन्ने हामीलाई महसुस भएको छ”, उनले भने ।
अध्यक्ष ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले यसको महत्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै सकारात्मक दृष्टिकोण निर्माणमा सहयोग गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे ।
“निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको छ । तथापि, यो क्षेत्र सबैको निशानामा पर्ने गरेको छ”, उनले भने, “जेनजी आन्दोलनका क्रममा पनि त्यस्तै भयो । देशभरि निजी क्षेत्रमा भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार करिब रु ८० अर्ब बराबर क्षति भएको प्रारम्भिक आँकलन छ । यो निकै दुःखद् हो ।”
प्रतिक्रिया दिनुहोस