काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल आज यूएईको शारजाहमा हुँदै छ। खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे शारजाह क्रिकेट रंगशालामा सुरु हुनेछ।
नेपालले पहिलो र दोस्रो दुवै खेल जितिसकेको छ र शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारिसकेको छ। आजको खेलमा जित निकाले नेपालले पहिलोपटक कुनै द्विपक्षीय टी–२० शृंखलामा क्लिनस्वीप गर्ने सम्भावना बनाएको छ। नेपालले यतिअघि तीन वा त्यसभन्दा बढी खेल समेटिएका कुनै शृंखलामा प्रतिद्वन्द्वीलाई पूर्णरूपमा हराएको छैन।
वेस्ट इन्डिज युवा खेलाडीहरूले भरिएको तुलनात्मक रूपमा अनुभवहीन टोलीका साथ मैदानमा उत्रिएको छ। लगातार दुई पराजयपछि अन्तिम खेलमा क्लिनस्वीपबाट जोगिने दबाब उनीहरूमा रहने छ।
आजको खेलका लागि नेपालले कप्तान रोहित पौडेलको नेतृत्वमा यथास्थिति कायम राख्ने संकेत दिएको छ। टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आदील आलम, करण केसी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामीलगायत १६ खेलाडी समावेश छन्।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनको नेतृत्वमा फाबियन एलेन, काइल मेयर्स, जेसन होल्डर, करिमा गोरे, शमार स्प्रिङ्गर, अमिर जान्गू, रामोन सिमन्ड्सलगायत खेलाडी टोलीमा छन्।
आजको प्रतिस्पर्धाले नेपाललाई ऐतिहासिक क्लिनस्वीपको अवसर दिनेछ भने वेस्ट इन्डिजका लागि प्रतिष्ठा जोगाउने मौका हुनेछ।
प्रतिक्रिया दिनुहोस