म तक्मा थाप्दिन
गद्धारहरुको हातबाट
तिनीहरुको हात खुनी छ ।
म मुद्धा खेपिरहेको छु
देश द्रोह विरुद्धको
म निलम्वित छु
आफ्नै जिन्दगीबाट
मलाई दमन गरिएको छ
यद्यपि,
मेरो स्वाभिमान ढलेको छैन
म प्रतिवादमा
पुनरावेदन पत्र लेखाई रहेको छु ।
म हण्डी खान्नँ
म भजन गाउँदिनँ
मलाई सत्ता इतर कवि भनिएको छ
म सत्ताको तावेदारी गर्दिनँ ।
मलाई चाहिएको छैन
नक्कली फूलको माला
मलाई धस्नु छैन
नक्कली अविरको टीको
मलाई भिर्नु छैन
नक्कली तक्मा र पगरी ।
म निमुखाको कविता लेख्छु
तिनीहरु सम्भ्रान्तको कविता लेख भन्छन्
म अनागरिकको गीत गाउँछु
तिनीहरु अनागरिकको गीत नगा भन्छन्
म सुकुम्बासीको कथा लेख्छु
तिनीहरु हुकुमबासीको कथा लेख भन्छन्
म दलित जनजातिको जीवनी लेख्छु
तिनीहरु राजा महाराजाको जीवनी लेख भन्छन्
म महिला र बालबालिकाको अधिकार लेख्छु
तिनीहरु महिला र बालबालिकाको अधिकार नलेख भन्छन्
म तेस्रो लिङ्गी र अपाङ्गको आवाज लेख्छु
तिनीहरु तेस्रो लिङ्गी र अपाङ्गको आवाज नलेख भन्छन् ।
मलाई सह्य छैन
वर्गीय विभेद
दलाल र पुँजिवाद
सामन्तवाद र साम्राज्यवाद
उपनिवेशवाद र विस्तारवाद
म लड्ने छु
वर्गीय मुक्ति खातिर
अन्तिम श्वास रहुन्जेल सम्म
म लेखिरहने छु
शोषितहरुको कविता
शोषण अन्त्य नहुन्जेल सम्म ।
- प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५
प्रतिक्रिया दिनुहोस