मोरङ । भारतको बिहार प्रदेशमा आज विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान जारी छ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा बिहानैदेखि मतदाताले मतदान सुरू गरेका छन्।
यो चरणमा एक हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने तीन करोड ७० लाखभन्दा बढी मतदाता, जसमा एक करोड ७४ लाख महिला मतदाता, मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।
निर्वाचनका लागि ४५ हजार ३९९ मतदान केन्द्र तोकिएका छन्।
मतदानको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत सीमाका नाकाहरू अस्थायी रूपमा बन्द गरिएको छ। मोरङ र सुनसरीका नाकाहरू शनिबार बेलुकादेखि नै बन्द गरिएका हुन्। मतदान सकिएपछि नाकाहरू फेरि खुला गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
यसअघि नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान सम्पन्न भएको थियो, जसमा ६५।०८ प्रतिशत मतदाता सहभागिता भएको थियो।
आजको अन्तिम चरणको मतदानपछि बिहारको नयाँ सरकार गठनको बाटो खुलेको छ।
प्रतिक्रिया दिनुहोस