बहिष्करणमा पारिएका आवाजहरु
एकाकार भएर
प्लेकार्ड उठाउँदै
सडकमा पोखिएका छन ।
सडकको चौडा छाती कुल्चदै
जुलुस निस्किएका छन
असमान संवैधानिक धाराहरुको
खारेजीको माग राखी
भूमीहीन जुलुसमा सामेल छन
अनागरिक जुलुसमा सामेल छन
जुलुस न्यायको माग गर्दै
अदालत परिसर पुगेको छ
इजलासहरु बन्द गरिएका छन
न्यायिक निकाय मौन छ ।
म स्वतन्त्र पर्यवेक्षक
जुलुस नियालि रहेको छु
जुलुस विद्रोहको संकेत हो
जुलुसमा आक्रोश छ
जुलुसमा घृणा छ
अत्याचारले थिचिएका पात्रहरु
उन्मुक्तिको नारा उठाई रहेछन
अदालतको ढोका बन्द गरिए पछि ल
जुलुस अनियन्त्रित भै
सरकार विरुद्ध
चर्का नारा लगाउन वाध्य छ
सरकार !
हामीलाई न्याय दे
हाम्रा माग पूरा गर
धर पकड बन्द गर
गगनभेदी नारा लगाएर
पाखुरामा कालो पट्टि बाँधि
विरोधको चर्को रुप
प्रदर्शन गरिरहेछ जुलुुस ।
म ठान्छु
न्यायोचित छन
जुलुसका नारा र मागहरु
म आशावादी छु
पूरा हुने छन जायज मागहरु
आन्दोलन भड्कने छैन
हुने छैन
आगजनी तोडफोड र लुटपाटहरु
हिंसा र प्रतिहिंसाका घटनाहरु ।
सरकार !
शान्तिपूर्ण अवतरण गराइयोस
तिम्रा विरुद्ध उठेका जुलुसहरु
तिमी मानव अधिकारका कुरा उठाउँछौ
र मानव अधिकार उल्लङघन गर्छौ
तिमी स्वतन्त्रताको कुरा उठाउँछौ
र स्वतन्त्रताको उपहास गर्छौ
तिम्रो दो जिब्रे नीति
जुलुसलाई मान्य छैन
जुलुस अगाडि बढि सक्यो
तिम्रो पासा पल्टाउनलाई ।
– प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
प्रतिक्रिया दिनुहोस