काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता टाइगर कप भलिबल आगामी माघमा हुने भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ १० गते देखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका हो । प्रतियोगिताका खेलहरु पोखरा रंगशालाको भलिबल कोर्टमा हुने छ । प्रतियोगिताको पुरस्कार राशी यस पटक पनि बढाइएको छ ।
गत संस्करणको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेकोमा यस पटकको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्दा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।
टाइगर गु्रपका अध्यक्ष शर्मा, कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ चिफ आदित्य ठाकुर र शुश्री मिडियाका अध्यक्ष सुमन अधिकारीबीच ३ वर्षका लागि त्रिपक्षीय सम्झौता पनि भएको छ । टाइगर कपमा माल्दिभ्सको पुरुष राष्ट्रिय टिमले पनि सहभागिता जनाउने जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस