विराटनगर । नोवेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरबीच उपचार सेवामा सहकार्य हुने भएको छ ।
मेडिकल कलेज र अस्पतालबीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
सम्झौता अनुशार न्युरो अस्पतालमा उपचाररत विरामीहरुलाई क्यान्सर सम्वन्धी परामर्श तथा उपचार चाहिएमा नोवेलसँग समन्वय गर्ने, विरामीको उपचार प्रकृयामा प्राथमिकता र उपचार खर्चमा छुट दिने सहमति भएको छ । न्युरो अस्पतालले नोवेलमा उपचारत विरामीहरुलाई न्युरोलोजी सेवा चाहिएमा प्राथमिकताकासाथ सेवाहरु उपलब्ध गराउने सहमति भएको छ ।

विरामीको उपचारसेवासँगै दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीहरुको सीप विकास तालिम गर्ने, संयुक्त रुपमा नियमित मेडिकल शिक्षा, कार्यशाला, अभिमुखीकरण आयोजना गर्ने सहमति भएको न्युरो अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
नोवेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र न्युरो अस्पतालका अध्यक्ष डा.वीरेन्द्रकुमार विष्टको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । यसअघि न्युरो अस्पतालले भारत हरियाणाको अमृता अस्पतालसँग पल्मोनोलोजी ( फोक्सो तथा दम) रोगको उपचारमा सहकार्य गरेको थियो ।

सम्झौता घोषणा कार्यक्रममा नोवेल मेडिकल कलेजका डा. शर्माले नोवेलसँगको सम्झौता काठमाण्डौं मेडिकल कलेजमा पनि लागु हुने प्रतिबद्धता जनाएका छन् ।
नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सरको उपचार गर्ने प्रविधि नेपालमै पहिलो पटक भित्र्याएको हो । अस्पतालका सञ्चालक डा. शर्माका अनुसार यो प्रविधि दक्षिण एसियामा भित्र्याउने नोबेल नवौं अस्पताल हो ।
नोवेलले सो मेसिन ५५ करोडमा खरिद गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस