काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निरन्तर प्रविधि–आधारित नवप्रवर्तनलाई अघि बढाउँदै नेपालमै विकसित दुईतर्फी भ्वाइस–एआई प्रणाली ‘खुशी’ सार्वजनिक गरेको छ । ग्राहक सेवालाई अझ प्रभावकारी, छरितो र डिजिटल बनाउन उद्देश्यले यो एआई सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
डिशहोमले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिमा उल्लेखनीय लगानी गर्दै आएको छ । यसअन्तर्गत केही समयअघि सार्वजनिक गरिएको भर्चुअल प्रिभिलेज कार्ड मार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक्स लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउँदै आएका छन् ।
त्यसैगरी, डिशहोमले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का खेलहरू आफ्नै ओटीटी प्लेटफर्म डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा एकैपटक दुई लाखभन्दा बढी दर्शकलाई जोड्न सफल भई नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेको थियो ।
भ्वाइस–एआईमा डिशहोमको महत्वपूर्ण पहल
निरन्तर नवप्रवर्तनको यात्रालाई थप उचाइमा पु¥याउँदै डिशहोमले अब भ्वाइस–एआई प्रणाली ‘खुशी’ सञ्चालनमा ल्याएको हो । स्थानीय आवश्यकता र प्रयोगकर्ताको व्यवहारलाई ध्यानमा राखेर विकास गरिएको यो एआईले नेपाली भाषामा मानवजस्तै संवाद गर्न सक्ने क्षमता राख्दछ ।
कम्पनीका अनुसार ‘खुशी’ विशेषगरी सेवा निष्क्रिय भएका ग्राहकहरूसँग स्वतः सम्पर्क गरी पुनःनवीकरणका लागि संवाद गर्ने, उपलब्ध अफरहरूको जानकारी दिने तथा संवादका क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव संकलन गरी ग्राहक सेवा केन्द्रसम्म पुर्याउन सक्षम छ । साथै, ग्राहकको भावनात्मक प्रतिक्रिया विश्लेषण (Sentiment Analysis) गरी प्रतिवेदन तयार गर्ने क्षमता पनि यसमा समावेश गरिएको छ ।
नेटवर्कमा प्राविधिक समस्या देखिएर सेवा अवरुद्ध भएका अवस्थामा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहक सेवा केन्द्रमा आउने कलमार्फत समस्याको कारण, अनुमानित समाधान समय तथा प्रगति विवरण उपलब्ध गराउनेछ । यसले अत्यधिक कल आउने समयमा पनि ग्राहकलाई छिटो र यथार्थ जानकारी प्रदान गर्न सहयोग पुग्ने डिशहोमले जनाएको छ ।
भविष्यका योजनाहरू
डिशहोमले आगामी चरणमा ‘खुशी’ मार्फत ग्राहक पहिचान प्रमाणीकरण, सही विवरण संकलन तथा स्वचालित रूपमा ग्राहक डेटाबेस अद्यावधिक गर्ने सुविधा विस्तार गर्ने योजना बनाएको छ । साथै, जडान तथा प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा समेत ‘खुशी’ को प्रयोग गरिनेछ, जसअन्तर्गत ग्राहकसँग समन्वय गरी उपयुक्त समय निर्धारण तथा पुनःसमायोजन गरिनेछ ।
हाल फेसबुक मेसेंजर र वेबच्याटमार्फत उपलब्ध च्याटबोट सेवामा ‘खुशी’ एकीकृत गरिँदैछ भने आगामी दिनमा यसलाई व्हाट्सएप र भाइबर मा समेत विस्तार गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
डिशहोमले नेपाली भाषामा आधारित संवादात्मक एआई प्रणालीको क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गर्दै दीर्घकालीन परियोजना अघि बढाउने तयारी गरेको छ । यस क्रममा कम्पनीले विगतदेखि संकलित विशाल डेटाबेसलाई अनुसन्धान तथा एआई प्रशिक्षणका लागि प्रयोग गर्न सकिने डिशहोमका प्रवक्ताले बताएका छन् ।
डिशहोमले ‘खुशी’ को सुरुवातसँगै नेपालमा एआई प्रविधिको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार यसले ग्राहक सेवामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै छरितो, प्रभावकारी र मानवीय–शैलीअनुकूल सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।
प्रतिक्रिया दिनुहोस