काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गरिरहेका दुवै टोलीलाई शुभकामना दिएकी छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार हुने फाइनल खेलअघि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई शुभकामना दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले एनपीएलले नेपाली क्रिकेट मात्र होइन, सिंगो देशलाई एकतामा बाँधेको उल्लेख गर्दै लेखेकी छन्, “सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना। यस उत्सवले सिंगो देशलाई जिताएको छ र जगाएको छ। सारा नेपालीलाई जोड्दै, नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ।”
लुम्बिनी लायन्सको कप्तानी राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल शनिबार दिउँसो ३स्३० बजे सुरु हुनेछ। दुवै टोलीमध्ये जसले जिते पनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ।
सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलो पटक प्लेअफ हुँदै फाइनलसम्मको यात्रा तय गरेको टोली हो। पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो।
प्रतिक्रिया दिनुहोस