कृष्ण पौडेल/काठमाडौं ।
पानी परेको
रातपछिको बिहान
त्यो रातपछिको बिहान
रातभरी बादल गर्जिरह्यो
आकाशभरी बिजुली चम्किरह्यो
र हरेक गर्जनसँगै
उनी मेरो नजिक हुँदै गइन् ।
तर बिहान
बिहान त बिलकुलै फरक थियो ।
झ्यालबाट ताजा घाम भित्र पस्यो
मानौं कसैले रातको
सबै त्रासलाई बगाएझैँ
उनको आँखा खुल्यो
अब डरले भरिएको थिएन
केवल एउटा मधुरो मुस्कान
मानौं उनलाई याद आयो
जसको मुटुको धड्कन
उनी रातभरी लुकेर बसेकी थिइन् ।
पानीका थोपाहरू
छानबाट अझै पनि टपकिरहेका थिए
तर अब तिनीहरूको आवाज बन्द भयो
हावा शीतल थियो
तर उनका हात न्याना थिए ।
मैले जिस्क्याए
के तिमी अझै डराएकी ?
उनी अलिकति लजाइन्
र भनिन्
होइन...
अब मलाई बानी परिसकेको छ ।
त्यो बिहान मैले महसुस गरे
केही आँधीबेहरीहरू
डराउन आउँदैनन्
तिनीहरू केवल
कसैको काखमा सान्त्वना पाउन सकिन्छ भनेर सिकाउन आउँछन् ।
अनि त्यस दिनदेखि
जब बादल गर्जन्छ
हामी दुवै मुस्कुराउँछौं
किनभने हामीलाई थाहा छ
हरेक गर्जन पछि
घमाइलो बिहानी हुन्छ ।
प्रतिक्रिया दिनुहोस