काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको हो । हालका बरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार आगामी साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन् ।
श्रेष्ठको समूहबाट वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला–नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए । निजी क्षेत्रको आवाज दुईतिहाईको सरकारसमक्ष सशक्त रुपमा पुराउन पनि महासंघभित्र एकताको खाँचो रहेको उनको भनाइ छ ।
त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समय निकै कम रहेपनि नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास गर्ने बताए । सहमति हुन नसके लोकतान्त्रिक अभ्यासमा जाने र निर्वाचनपछि महासंघलाई एकताबद्ध भएर अघि बढाउने प्रतिवद्धता जनाए ।
महासंघको ६० औँ वार्षिक साधारण सभा चैत्र २९ र ३० गते हुँदैछ । साधारणसभा अन्तर्गत महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । निर्वाचनमा उपाध्यक्ष हेमराज ढकाल समूहले पनि प्यानलसहितको उम्मेदवारको घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस