काठमाडौं । चालु आव २०८२/८३ मा नेपालीहरुको आम्दानी बढ्न सकेन। केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय अघिल्लो वर्षकै हाराहारीमा रहने आँकलन सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार ५१३ अमेरिकी डलरमा सीमित रहने उक्त कार्यालयको तथ्यांक छ। गत आव २०८१/८२ मा प्रतिव्यक्ति आय एक हजार ५१६ डलर थियो। अमेरिकी डलरको मूल्य बढेको र त्यसको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपालीको प्रतिव्यक्ति आय बढ्न नसकेको बताइएको छ।
‘अमेरिकी डलरको सटही दरमा भएको वृद्धिका कारण यस वर्ष प्रतिव्यक्ति आयमा केही गिरावट देखिएको हो,’ तथ्यांक कार्यालयका निर्देशक दिनेश भट्टराईले भने।
तथ्यांकअनुासर, प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) यस वर्ष एक हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको संशोधित अनुमानसँग बराबर रहेको भट्टराईले बताए।
तर, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्च योग्य आयमा भने वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस्तो आय दुई हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको उनले बताए। डलरको विनिमय दर बढे तापनि उच्च रेमिटेन्स आप्रवाहका कारण खर्चयोग्य आयमा सुधार आएको विवरण तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।
अहिले सरकार चलाइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी पाँच–सात वर्षभित्र नेपालीहरुको प्रतिव्यक्ति आय बढाएर तीन हजार अमेरिकी डलर बराबर बनाउने चुनावी बाचापत्र सार्वजनिक गरेको थियो। त्यो बाचापत्र अहिले अर्थमन्त्री स्वर्णिम वाग्लेले तयार गरेका थिए। उनै वाग्लेले पनि आगामी सात वर्षभित्रमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने र त्यसका लागि औषतमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने दावी गरिरहेका छन्।
तर, चालु आर्थिक वर्षको आर्थिक वृद्धिको तथ्यांक हेर्दा अर्थमन्त्रीको चाहना सहजै पूरा हुन कठिन देखिन्छ।
चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जिडीपी)को वृद्धिदर उपभोक्ता मुल्यमा ३.८५ प्रतिशत रहने तथ्यांक सार्वजनिक भएको छ। अर्थतन्त्रको आकार अर्थात जिडीपी भने ६६ खर्ब रुपैयाँ पुग्ने आँकलन केन्द्रिय तथ्यांक कार्यालयको छ।
आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको थियो। त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको थियो।
राष्ट्रिय लेखा तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत रहने बताइएको छ। चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। सरकारको लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल नहुने देखिएको हो।
आव २०८१/८२ मा ३.८० प्रतिशत र आव २०८०/८१ मा ३.३८ प्रतिशत आर्थिक वृद्धि भएको थियो।
त्यसैगरी, उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत आव ०८०/८१ मा ३.६८ प्रतिशत कायम भएको तथ्यांक कार्यालयले जनाएको छ।
विश्व बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशत रहने आँकलन सार्वजनिक गरेको छ। एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत रहने भनेको छ।
यसले नेपालको अर्थतन्त्र सुस्त गतिमा रहेको देखाउँछ। यस्तो सुस्त अर्थतन्त्रलाई गति दिएर औषतमा सात प्रतिशतको आर्थिक वृद्धि पुर्याउन सरकारले धेरै मेहनत गर्नुपर्ने देखिन्छ।
चालु आर्थिक वर्षमा प्राकृतिक विपत्तिका र जेन–जी आन्दोलनको क्रममा भएको क्षतिका बीच पनि ३.८५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन राम्रो भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले बताए।
‘जेन–जी आन्दोलनबाट ८४ अर्ब क्षति भएको थियो। आन्दोलनपछि शान्ति सुरक्षा हुन्छ कि हुँदैन भन्ने अवस्था रहँदा व्यवसायिक वातावरण बनेको थिएन। अन्तरिम सरकारले त्यसलाई सम्बोधन गर्यो। त्यसपछि निर्वाचन हुने हो कि होइन भन्ने अवस्थाले पनि व्यवसायिक वातावरणलाई प्रभावित गरेको थियो। त्यस्तो अवस्थामा अघिल्लो वर्षकै हाराहारीमा आर्थिक वृद्धि हुनु राम्रो कुरा हो,’ खरेलले भने।
विद्युत उत्पादनको गति र पर्यटन क्षेत्र पनि राम्रो भएकोले अर्थतन्त्रको वृद्धिलाई सघाएको उनले बताए।
तर, अहिले आंकलन गरिएको आर्थिक वृद्धि कायम रहन अमेरिका–इरान युद्ध अन्त्य हुनुपर्ने र त्यसका प्रभाव पश्चिम एसियामा देशहरुमा रहन नहुने खरेलले बताए। ‘अहिले पनि चर्को मूल्यवृद्धि खेप्न बाध्य हुनुपरेको छ। युद्धको प्रभाव रहिरह्यो वा युद्ध झनै लम्बियो भने अहिले आँकलन गरिएको आर्थिक वृद्धि कायम नहुन सक्छ,’ उनले भने।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी)मा सेवा क्षेत्रको योगदान सबैभन्दा उच्च देखिएको छ। सेवा क्षेत्र अन्तर्गत व्यापार र वित्तीय मध्यस्थताजस्ता गतिविधिहरू पर्छन।
तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा उच्च ६१.८ प्रतिशत रहने विवरण केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ। केही वर्ष यता अर्थतन्त्रमा प्राथमिक क्षेत्र भनिएको कृषि तथा खानीको योगदान घट्दै गएको छ।
पछिल्ला आर्थिक वर्षहरुमा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान खुम्चिदै गएको छ भने विद्युतको हिस्सा ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षमा जिडीपीमा वर्षमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान २४.०३ प्रतिशत रहने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ। खासगरी मुख्य बाली धानको उत्पादनमा ४.१६ प्रतिशतले गिरावट आउने अनुमान गरिएकाले कृषि क्षेत्रको वृद्धिदरमा प्रत्यक्ष असर परेको हो। यद्यपि, मकै, गहुँ, कोदो र दलहन जस्ता बालीका साथै पशुजन्य उत्पादनमा भने सामान्य सुधार हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, विद्युत् तथा ग्याँस क्षेत्रको योगदान २.०८ प्रतिशत रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २०.९३ प्रतिशत हुने भनिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले बढी हो। नयाँ आयोजनाबाट विद्युत् उत्पादन र प्रसारण संरचनाको विस्तारका कारण विद्युतको उपभोग विस्तार भएकोले जिडीपीमा विद्युतको वृद्धि उल्लेख्य रहेको तथ्यांक कार्यालयले बताएको छ।
प्रतिक्रिया दिनुहोस