काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को प्रतिष्पर्धामा स्विट्जरल्यान्डले अल्जेरियामाथि सहज जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा सम्पन्न रोमान्चक खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० गोल अन्तरले पराजित गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले दुवै हाफमा एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको सुरुवाती १०औँ मिनेटमै जोहान मानजाम्बीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एम्बोलोले गोल गरेर स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको मात्र ४८ सेकेन्डमै खेललाई २–० को स्थितिमा पुर्यायो ।
नटिङहम फरेस्टका विङ्गर डान एनडोएले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपछि अल्जेरियाको खेलमा फर्कने सम्भावना निकै कमजोर बनेको थियो । खेलको ८१औँ मिनेटमा फाबियन रिडरले अग्रतालाई अझ फराकिलो बनाउने सुन्दर अवसर पाए पनि उनको प्रहारलाई अल्जेरियाका गोलरक्षकले सहजै विफल पारिदिए ।
यो जितसँगै अन्तिम १६ मा पुगेको स्विट्जरल्यान्डले अब क्वार्टरफाइनल प्रवेशका लागि शनिबार हुने कोलम्बिया र घानाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्कोतर्फ यो पराजयसँगै अल्जेरिया जारी विश्वकपको राउन्ड अफ ३२ बाट बाहिरिने पाँचौँ अफ्रिकी टोली बनेको छ । यसअघि दक्षिण अफ्रिका, आइभोरी कोस्ट, डिआर कङ्गो र सेनेगल पनि यही चरणबाट बाहिरिइसकेका छन् ।
हालसम्म नकआउट चरणमा पुगेका अफ्रिकी टोलीहरूमध्ये मोरक्को मात्रै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ भने केप भर्डे, इजिप्ट र घानाले आफ्नो राउन्ड अफ ३२ को खेल खेल्न बाँकी नै छ । ट्युनिसिया भने यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको थियो ।
प्रतिक्रिया दिनुहोस