काठमाडौं / साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा डेब्यु टोली केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयसम्म पनि खेल रोमाञ्चक बनेको थियो, जहाँ केप भर्डेले दुईपटक बराबरी गोल फर्काउँदै विश्व विजेतालाई कडा चुनौती दिएको थियो। अन्ततः आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो।
अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनल मेसीको गोलमार्फत अग्रता लिएको थियो। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा फर्काए।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। तर केप भर्डे फेरि पनि पछि हटेन। १०३औँ मिनेटमा सिड्नी लोप्स काब्रालले शानदार गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए।
खेलको १११औँ मिनेटमा अर्जेन्टिनाले निर्णायक गोल ग¥यो। मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोको हेडर क्लियर गर्ने क्रममा केप भर्डेका डाइनी बोर्जेस (डिने) बाट आत्मघाती गोल हुन पुग्यो र अर्जेन्टिनाले ३–२ को अग्रता लियो। त्यही गोल अन्ततः जितका लागि पर्याप्त बन्यो।
पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेले साविक विश्व विजेता अर्जेन्टिनालाई अन्तिमसम्म दबाबमा राख्दै प्रभावशाली प्रदर्शन गरे पनि अन्ततः दुर्भाग्यपूर्ण आत्मघाती गोलका कारण प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
यस जितसँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसको भेट पहिलोपटक अन्तिम १६ मा पुगेको इजिप्टसँग हुनेछ।
प्रतिक्रिया दिनुहोस