२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कम्पनीका फाइल कर कार्यालयमा परीक्षण

पुराना फाइल पल्ट्याउँदै सरकार : डेढ सय कम्पनी ठुला करदाता कार्यालयकाे निगरानीमा

सोमवार , आषाढ २२, २०८३

काठमाडाै‌ ।  सरकारले चालु आर्थिक वर्षमा कर परीक्षणका लागि कुनै पनि नयाँ कम्पनी छनोट गरेकाे छैन् तर पुराना फाइल फास्ट ट्र्याकमा अघि बढाएकाे छ ।

आन्तरिक राजस्व विभागअन्तर्गत ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले साउनयता नयाँ कम्पनी छनोट (सेलेक्सन) प्रक्रिया नै अघि नबढेपनि  अघिल्ला वर्षदेखि बाँकी रहेका फाइलहरूको फास्ट ट्र्याकमा अघि बढाएकाे जानकारी दिए ।

शर्माले विभागले प्रत्येक वर्ष जोखिमका आधारमा कम्पनी छनोट गर्ने व्यवस्था भए पनि यस आर्थिक वर्षमा नयाँ छनोट नभएको बताए । उनका अनुसार विभागले गर्ने छनोट व्यक्तिको निर्णयबाट नभई ‘रिस्क इन्जिन’ नामक कम्प्युटर प्रणालीमार्फत हुने गर्दछ।

"यो वर्ष साउनदेखि अहिलेसम्म कुनै पनि नयाँ कम्पनी छनोट भएको छैन," उनले भने, "अहिले भइरहेको काम पुरानै बाँकी रहेका कर परीक्षणका फाइलहरूको हो।"

उनका अनुसार ठूला करदाता कार्यालयमा रहेका सबै करदाताको नियमित रूपमा परीक्षण गर्ने व्यवस्था छ। यद्यपि अन्य कर कार्यालयमा भने जोखिमका आधारमा छनोट गरिएका करदाताको मात्र परीक्षण हुने गरेको उनले बताए।

हाल ठूला करदाता कार्यालयमा केही पुराना फाइल अझै बाँकी रहेको उल्लेख गर्दै शर्माले करिब १५० भन्दा बढी फाइल परीक्षण हुन बाँकी हुन सक्ने बताए। यद्यपि यसको यकिन संख्या भने विभागीय प्रणालीबाट मात्र पुष्टि हुने उनको भनाइ छ।

शर्माका अनुसार जोखिम देखिएका कम्पनी छनोट गरेर पूर्ण कर परीक्षण (फुल अडिट) गर्न पनि विभागले औपचारिक निर्णय गरी सम्बन्धित कार्यालयमा पठाउनुपर्छ। तर चालु आर्थिक वर्षमा त्यस्तो निर्णयसमेत नभएको उनले जानकारी दिए।

बाँकी रहेका पुराना कर परीक्षणका काम भने असोजसम्म सम्पन्न गर्ने समयसीमा रहेको शर्माले बताए। उनका अनुसार अहिले देखिएको कर परीक्षणको गतिविधि नयाँ कम्पनीमाथिको अडिट नभई विगतका बाँकी फाइलहरूलाई प्राथमिकताका साथ टुंग्याउने अभियानको हिस्सा हो।

प्रमुख कर प्रशासक केदारनाथ शर्माको भनाइ जस्ता तस्तै

यस आर्थिक वर्षमा साउनदेखि अहिलेसम्म कर परीक्षणका लागि कुनै पनि नयाँ कम्पनी छनोट (सेलेक्सन) गरिएको छैन। अहिले भइरहेको कर परीक्षण नयाँ कम्पनीको नभई अघिल्ला वर्षदेखि बाँकी रहेका फाइलहरूको हो।

कार्यालयअनुसार अवस्था फरक–फरक हुन्छ। ठूला करदाता कार्यालयमा भने हरेक वर्ष सबै करदाताको कर परीक्षण गर्नुपर्ने व्यवस्था छ। अहिले कति फाइल बाँकी छन् भन्ने यकिन तथ्यांक प्रणालीबाट हेर्नुपर्छ। पुराना बाँकी रहेका फाइलहरू भने अझै थुप्रै छन्।

ठूला करदाता कार्यालयमा करदाता नै करिब ५८५ जना रहेकाले सयौंको संख्यामा परीक्षण बाँकी छैन। १५० भन्दा केही बढी फाइल बाँकी हुन सक्छन्, तर ठ्याक्कै संख्या प्रणालीबाट हेर्नुपर्छ।

चार वर्षअघिका बाँकी कर परीक्षणका फाइलहरू नेपालभरकै हुन्। ठूला करदाता कार्यालयमा सबै करदाताको परीक्षण हुने व्यवस्था छ भने अन्य कर कार्यालयमा जोखिमका आधारमा छनोट गरिएका (सेलेक्टिभ) करदाताको मात्र परीक्षण हुन्छ।

यस वर्ष चौथो वर्षका लागि नयाँ छनोट नभएकाले अघिल्ला वर्षका बाँकी परीक्षणहरू मात्र भइरहेको हो।

कम्पनी छनोट विभागको ‘रिस्क इन्जिन’ नामक कम्प्युटर प्रणालीले जोखिमका आधारमा गर्छ। व्यक्तिले कम्पनी छनोट गर्ने व्यवस्था छैन।

पूर्ण कर परीक्षण (फुल अडिट) गर्न पनि विभागले निर्णय गरेर सम्बन्धित कार्यालयमा पठाउनुपर्छ। तर यस आर्थिक वर्षमा विभागले त्यस्तो निर्णय पठाएको छैन।

पुराना बाँकी रहेका कर परीक्षणका काम सम्पन्न गर्न असोजसम्म समय रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट