२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

हस्पिटालिटी क्षेत्र : बढ्दैछ लगानी

चितवनमा पाँचतारे 'रोयल ट्युलिप' रिसोर्ट सञ्चालनको तयारी, १७४ करोड लगानी

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा निर्माणाधीन पाँचतारे लक्जरी रिसोर्ट रोयल ट्युलिप सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।

करिब १ अर्ब ७४ करोड ९० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडले प्रवर्द्धन गरिरहेको छ ।   

सन् २०२० जनवरी १६ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको केटीएम हस्पिटालिटीले व्यवसाय विस्तारको रणनीतिअनुसार ९ जुलाई २०२४ मा आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेको थियो।

कम्पनीले सौराहामा ४.१२ एकड क्षेत्रफलमा ६५ कोठा क्षमताको आधुनिक पाँचतारे रिसोर्ट निर्माण गरिरहेको छ। अधिकांश भौतिक निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

यद्यपि, हालैका सामाजिक तथा बजारगत परिस्थितिका कारण नयाँ होटल व्यवसायहरू प्रभावित हुँदा रिसोर्टको व्यावसायिक सञ्चालन केही समय पछि धकेलिएको थियो। अब कम्पनीले सन् २०२६ को मध्य जुलाई (साउनको सुरुआत) देखि रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

रिसोर्टको व्यवस्थापन तथा सञ्चालनका लागि कम्पनीले फ्रान्सको बहुराष्ट्रिय होटल सञ्जाल लुभ्रे होटल्स ग्रुप अन्तर्गतको सरोवर होटल्स प्राइभेट लिमिटेडसँग व्यवस्थापन सम्झौता गरेको छ।

यससँगै रिसोर्ट अन्तर्राष्ट्रिय ब्रान्ड 'रोयल ट्युलिप' को नामबाट सञ्चालन हुनेछ। यस साझेदारीले अन्तर्राष्ट्रिय बजार पहुँच, विश्वव्यापी बुकिङ नेटवर्क तथा उच्चस्तरीय होटल व्यवस्थापन प्रणालीको लाभ उपलब्ध गराउने अपेक्षा गरिएको छ।

कम्पनीको नेतृत्व अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर शाहले गरिरहेका छन्। आउटसोर्सिङ तथा सेवा क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बटुलेका शाह गैरआवासीय नेपाली संघका उपाध्यक्ष रहिसकेका छन्।  

रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज, राप्ती नदी र कुमरोज सामुदायिक वनको प्रवेश क्षेत्र नजिकै अवस्थित भएकाले यसको भौगोलिक तथा पर्यटन व्यवसायिक सम्भावना बलियो रहेको केयर रेटिङ्सको प्रतिवेदनमा उल्लेख छ। 

सरकारले होटल तथा रिसोर्ट उद्योगलाई विभिन्न कर सहुलियत प्रदान गरेको, पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको तथा सन् २०२३–२०३३ लाई पर्यटन दशक घोषणा गरेकाले समग्र पर्यटन उद्योगको दीर्घकालीन सम्भावना सकारात्मक रहेको रेटिङ प्रतिवेदनले औंल्याएको छ।

कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। आर्थिक वर्ष २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार नाघिसकेको तथ्यांकले पनि होटल उद्योगप्रतिको सकारात्मक संकेत देखाएको छ।

केयर रेटिङ्सले कम्पनीलाई प्रदान गर्दै आएको 'CARE-NP BB- (Is)' इस्युअर रेटिङ नवीकरण गरेको छ । उक्त रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको डिफल्ट जोखिम रहेको संकेत गरेकाे छ।

सकारात्मक पक्षहरू हुँदाहुँदै पनि होटल उद्योगमा लगानीको प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने, बढ्दो प्रतिस्पर्धा तथा एकल परियोजनामा आधारित व्यवसाय भएकाले क्षेत्रीय आर्थिक गतिविधिमा आउने उतारचढाव कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

त्यसैगरी, बैंकिङ प्रणालीमा तरलताको अवस्था परिवर्तनसँगै फ्लोटिङ ब्याजदरमा हुने उतारचढावले कम्पनीको वित्तीय दायित्व र नगद प्रवाहमा थप दबाब सिर्जना गर्न सक्ने जोखिम पनि औंल्याइएको छ।

केयर रेटिङ्सका अनुसार कम्पनीले अब निर्धारित समय र लागतभित्र परियोजना पूर्ण रूपमा सञ्चालनमा ल्याई अपेक्षित व्यापारिक प्रदर्शन गर्न सक्नु नै आगामी सफलताको मुख्य आधार हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट