काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार उक्त अवधिमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने देखिएको हो।
आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अर्थतन्त्रका विभिन्न क्षेत्रका गतिविधिमा आएको सुधारका कारण जीडीपी वृद्धिदर सकारात्मक रहने अनुमान गरिएको कार्यालयले जनाएको छ।
समीक्षा अवधिमा विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन तथा व्यापार सेवामा देखिएको सुधारले आर्थिक वृद्धिलाई टेवा पुर्याएको छ।
यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेका कारण समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत सामान्य स्तरमै सीमित रहेको कार्यालयको भनाइ छ।
कार्यालयका अनुसार अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये १६ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि सकारात्मक देखिएको छ। तीमध्ये सबैभन्दा उच्च वृद्धि विद्युत, ग्यास, वाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २४.८८ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ।
त्यसैगरी, वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलाप १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रमा धान उत्पादन घटे पनि पशुपालन र तरकारी उत्पादनमा आएको सामान्य सुधारका कारण १.५८ प्रतिशतको सकारात्मक वृद्धिदर कायम रहने अनुमान गरिएको छ।
यसैबीच, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतको ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को विधि प्रयोग गरी तयार गरिएको मौसमी प्रभाव समायोजित तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (कार्तिक–पुस) को तुलनामा तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धिदर ०.५८ प्रतिशत मात्र रहने प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस