विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेजलाई सरकारले कडाइ गर्ने भएको छ । अब यस्ता कलेज सञ्चालनका लागि जग्गा, भवन, धरौटी, पूर्वाधार र अनुगमनसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थालाई व्यवस्थित गर्न ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ ।
नियमावली कार्यान्वयनमा आएसँगै यस्ता कलेजका लागि पहिलोपटक जग्गा, भौतिक पूर्वाधार र आर्थिक सुरक्षाको स्पष्ट व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाअनुसार विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन हुने कलेजले अब निश्चित क्षेत्रफलको जग्गा अनिवार्य रूपमा व्यवस्था गर्नुपर्नेछ ।
काठमाडौं उपत्यकामा सञ्चालन हुने कलेजका लागि कम्तीमा ३ रोपनी, हिमाली तथा पहाडी जिल्लामा ६ रोपनी र तराईका जिल्लामा १५ कठ्ठा जग्गा आवश्यक पर्ने व्यवस्था गरिएको छ ।
विद्यार्थी संख्या, सञ्चालन हुने कार्यक्रम र शैक्षिक तहका आधारमा जग्गा तथा भवनको मापदण्ड थप बढाउन सकिने नियमावलीमा उल्लेख गरिएको छ ।
५ वर्षभित्र आफ्नै नाममा जग्गा र भवन बनाउनुपर्ने
नयाँ व्यवस्थाअनुसार हाल भाडाको भवन वा कम जग्गामा सञ्चालन भइरहेका कलेजले पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

यस्ता कलेजहरुले ५ वर्षभित्र जग्गाको स्वामित्व आफ्नै नाममा ल्याई आवश्यक भवन निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि कम पूर्वाधारमा सञ्चालन भइरहेका कलेजलाई पनि नयाँ मापदण्डअनुसार व्यवस्थित हुनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।
त्यस्तै कलेजको जग्गा बिक्री गर्ने वा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिने अवस्थामा समेत मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
कलेज सञ्चालनका लागि कडा भौतिक पूर्वाधार मापदण्ड
मन्त्रालयले शैक्षिक संस्थाको भौतिक सुरक्षालाई समेत प्राथमिकतामा राख्दै नयाँ मापदण्ड लागू गरेको छ । अबको नियमावली अनुसार कलेज स्थापना गर्दा औद्योगिक क्षेत्रबाट टाढा हुनुपर्ने,मुख्य सडकको अत्यधिक जोखिमयुक्त क्षेत्रमा नहुनुपर्ने,दमकल र एम्बुलेन्स सहज रूपमा पुग्न सक्ने स्थानमा हुनुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै भवन निर्माण आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ । मन्त्रालयले तयार पारेको २५ बुँदे पूर्वाधार तथा सञ्चालन मापदण्ड कलेजहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । नियम उल्लंघन गर्ने वा तोकिएको मापदण्ड पूरा नगर्ने संस्थाको सम्बन्धन खारेज गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
अनुगमनका लागि मन्त्री नेतृत्वको ९ सदस्यीय समिति
विदेशी सम्बन्धन प्राप्त कलेजको सञ्चालन प्रभावकारी भए–नभएको हेर्न सरकारले उच्चस्तरीय अनुगमन समिति गठन गर्ने भएको छ । नियमावलीमा नै व्यवस्था गरेर अनुगमण समिति गठन गर्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा गठन हुने समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष,शिक्षा मन्त्रालयका सचिव,मन्त्रालयका सम्बन्धित अधिकारीलगायत ९ सदस्यी समिति रहने व्यवस्था गरिएको छ । समितिले कलेजको पूर्वाधार, शैक्षिक गुणस्तर, विद्यार्थी हित र नियम पालना भए–नभएको अनुगमन गर्नेछ ।
धरौटीमा पनि कडाइ, स्नातक तहका लागि ३५ लाख
नयाँ नियमावलीले विदेशी सम्बन्धन प्राप्त कलेजको आर्थिक सुरक्षाका लागि धरौटीको व्यवस्था पनि गरेको छ । नयाँ व्यवस्थाअनुसार स्नातक तहसम्म मात्र सञ्चालन गर्ने कलेजले ३५ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
स्नातकोत्तर तहसम्म कार्यक्रम सञ्चालन गर्ने कलेजले २५ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ । कलेजहरुले राखेको धरौटी रकम मन्त्रालयको स्वीकृतिबिना निकाल्न पाइने छैन। कलेज बन्द भएको अवस्थामा पनि विद्यार्थीको अध्ययन पूरा भएको प्रमाणित भएपछि मात्रै धरौटी फिर्ता गर्ने प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ ।
नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कति कलेज छन् ?
शिक्षा मन्त्रालयका अनुसार नेपालमा हाल विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका ५६ वटा कलेज छन् । यसअघि यस्ता कलेजको संख्या ५९ रहेकोमा केही कलेजको अनुमति नवीकरण नभएपछि संख्या घटेर ५६ पुगेको मन्त्रालयले जनाएको छ ।
यी कलेजहरूले बेलायत, मलेसिया, अष्ट्रेलिया, अमेरिका, भारतलगायत विभिन्न देशका विश्वविद्यालयसँग सम्बन्धन लिएर व्यवस्थापन, सूचना प्रविधि, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, सामाजिक विज्ञानलगायतका विषयमा अध्ययन सञ्चालन गरिरहेका छन्।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केही प्रमुख कलेजहरु
| क्र.सं. |
कलेज |
सम्बन्धित विदेशी विश्वविद्यालय |
| १ |
Ace International Business School |
Glasgow Caledonian University |
| २ |
Asian Institute of Technology and Management (AITM) |
University of the Highlands and Islands |
| ३ |
Balmiki Lincoln College |
Lincoln University College |
| ४ |
Biratnagar International College |
University of Wolverhampton |
| ५ |
British International College |
Keele University |
| ६ |
CG Institute of Management |
Limkokwing University of Creative Technology |
| ७ |
Herald College Kathmandu |
University of Wolverhampton |
| ८ |
Informatics College Pokhara |
London Metropolitan University |
| ९ |
Islington College |
London Metropolitan University |
| १० |
King's College |
Westcliff University |
| ११ |
Lord Buddha Education Foundation (LBEF) |
Asia Pacific University of Technology and Innovation |
| १२ |
Mid-Valley International College |
University of the West of England |
| १३ |
Naaya Aayam Multi-Disciplinary Institute (NAMI) |
University of Northampton |
| १४ |
Nepal Mega College |
University of Central Lancashire |
| १५ |
Softwarica College |
Coventry University |
| १६ |
The British College |
Leeds Beckett University |
| १७ |
The British Professional College |
University of Sunderland |
| १८ |
ISMT College |
University of Sunderland |
| १९ |
International School of Tourism and Hotel Management (IST) |
Salzburg University of Applied Sciences |
| २० |
Nobel College International |
University of the West of England |
- स्रोतः विभिन्न कलेज र मन्त्रालयको तथ्यांकबाट
विदेशी विश्वविद्यालयको नाम प्रयोग गरेर कमजोर पूर्वाधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले नयाँ नियम ल्याएको शिक्षा प्रविधी मन्त्री सस्मित पोखरेलले बताए । मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले विदेशी सम्बन्धन प्राप्त कलेजको गुणस्तर, पारदर्शिता, विद्यार्थीको शैक्षिक सुरक्षा र संस्थागत स्थायित्व सुनिश्चित गर्ने दाबी गरिएको छ ।
मन्त्रालयको अध्ययनअनुसार विदेशी सम्बन्धनका कलेजहरूले कुल २ सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएका छन्, तर तीमध्ये केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून वा शून्यसमेत देखिएको छ। नेपालमा सञ्चालित अधिकांश कलेजहरुले मापदण्ड पुरा नगरेपछि यो नियमावली ल्याएको मन्त्री पोखरेलले दाबी गरे ।
सरकारले नयाँ नियम ल्याउनुको मुख्य कारण नै विदेशी सम्बन्धन प्राप्त सबै कलेजको गुणस्तर र पूर्वाधार समान नभएकोले ल्याएको हो मन्त्री पोखरेलले भने ।
उपत्यकामा बढी विदेशी सम्बन्धनका कलेज
विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन हुने अधिकांश कलेज काठमाडौं उपत्यकामा केन्द्रित रहेका छन् । तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र करिब ४४ वटा र उपत्यका बाहिर करिब १६ वटा कलेज सञ्चालनमा रहेको छ ।
कुन विश्वविद्यालयका कति कलेज ?
विदेशी सम्बन्धन प्राप्त कलेजको ठूलो हिस्सा केही सीमित विश्वविद्यालयमा केन्द्रित छ। विशेषगरी बेलायतका विश्वविद्यालयका नाममा नेपालमा धेरै कलेज सञ्चालनमा छन् । बेलायत २८,मलेसिया २०, अमेरिका २, थाइल्यान्ड २ भारत २ सहित ५६ कलेजहरु नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेको मन्त्रालयको तथ्यांकमा रहेको छ । विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यी ५६ कलेजमा करिब २८ हजारभन्दा बढी विद्यार्थी रहेको तथ्यांकमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस