विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आफ्नो संगठनात्मक गतिविधिलाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने उद्देश्यसहित १६ वटा विषयगत समिति गठन गरेको छ ।
महासंघका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले विभिन्न क्षेत्रका समितिहरू गठन गर्दै तिनका सभापतिहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
महासंघका अनुसार संगठनको कार्यसम्पादनलाई परिणाममुखी बनाउने, निजी क्षेत्रका सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा सदस्यहरूको सहभागिता बढाउने उद्देश्यले कार्यविभाजन गरिएको हो । बैठकले महासंघको कार्यसमितिमा दुई जना आमन्त्रित सदस्य समेत थप गर्ने निर्णय गरेको छ ।
आमन्त्रित सदस्यमा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा तथा झापा उद्योग संघका उपाध्यक्ष (कृषि) विनय गोयललाई मनोनयन गरिएको महासंघले जनाएको छ ।
बैठकले उद्योग, व्यापार, पर्यटन, वित्तीय क्षेत्र, कर तथा राजश्व, महिला उद्यम विकास, सूचना तथा सञ्चार प्रविधि, आयात–निर्यात, घरेलु तथा साना उद्योग, रोजगारदाता परिषद्, सामाजिक विकास, व्यापार मेला, स्थानीय निकाय समन्वय, स्थल यातायात तथा पारवहन, स्वास्थ्य तथा सीप विकासलगायत विविध क्षेत्र समेट्ने गरी १६ वटा विषयगत समिति गठन गरेको छ ।
गठित समितिहरूमध्ये उद्योग वाणिज्य परिषद्को सभापतिमा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, रोजगारदाता परिषद्मा रविन दाहाल, बैंक, वित्तीय, बिमा तथा पूँजीबजार समितिमा सुवाष आचार्य, कर तथा राजश्व समितिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविष कुमार श्रेष्ठ तथा महिला उद्यम विकास समितिमा कृति श्रेष्ठ उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

यस्तै व्यापार मेला समितिको नेतृत्व कृष्णप्रसाद रिजाल, घरेलु तथा साना उद्योग समितिको नेतृत्व जयप्रकाश शर्मा, आयात–निर्यात समितिको नेतृत्व निर्मल भट्टराई, सामाजिक विकास समितिको नेतृत्व नवीन चौधरी, स्थल यातायात तथा पारवहन समितिको नेतृत्व मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिको नेतृत्व विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिको नेतृत्व अंशु बन्जारा तथा स्वास्थ्य तथा सीप विकास समितिको नेतृत्व तरुण संचेतीले गर्नेछन् ।
सदस्यता वितरण समितिको अध्यक्ष स्वयं महासंघका अध्यक्ष राजेन्द्र राउत रहने निर्णय गरिएको छ ।
महासंघले नीतिगत सुधार, संस्थागत विकास तथा निजी क्षेत्रका साझा एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित क्षेत्रका अनुभवी व्यक्तित्वहरू सम्मिलित सल्लाहकार समिति पनि गठन गरेको जनाएको छ ।
समितिमा पूर्व केन्द्रीय सदस्य अविनाश बोहरा, पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरे, पूर्व उपाध्यक्ष कुमारमणि पोखरेल, पूर्व राजदूत तापस अधिकारी, पूर्व भन्सार प्रशासक श्याम दाहाल, चार्टर्ड एकाउन्टेन्ट सुरज तिम्सिना तथा अधिवक्ता विकास थापालाई विभिन्न विषयगत सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)द्वारा जारी प्रेस विज्ञप्तिमा निजी क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि, नीतिगत समन्वय तथा प्रदेशको आर्थिक विकासमा महासंघको भूमिका थप प्रभावकारी बनाउन समितिहरू गठन गरिएको उल्लेख गरिएको छ ।
महासंघले आगामी दिनमा यी समितिहरूमार्फत उद्योग, व्यापार तथा लगानी प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस