काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–२, कप्तानगञ्जमा भएको गोलीकाण्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा प्रहरीद्वारा चलाइएको गोलीबाट एक जनाको मृत्यु हुनु र दर्जनौं व्यक्ति घाइते हुनु राज्यको गम्भीर सुरक्षा कमजोरी तथा मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा दुई पक्षबीचको विवाद चर्किएपछि उत्पन्न परिस्थितिलाई संयमित र वार्तामार्फत समाधान गर्नुपर्नेमा सुरक्षा निकायले जथाभावी गोली चलाएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा परिस्थितिको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ ।
नागरिकमाथि गोली चलाउने अवस्था नै सिर्जना हुनु दुःखद भएको भन्दै घातक हतियार प्रयोग गरेर नागरिकको ज्यान लिनु गम्भीर अपराध र राज्य आतंकको उदाहरण भएको नेकपाको निष्कर्ष छ ।
नेकपाले सुरक्षाकर्मीको नेतृत्वविहीनता, सरकारी निकायको गैरजिम्मेवारी र असंवेदनशील व्यवहारका कारण स्थिति थप बिग्रिएको दाबी गर्दै यस घटनाले गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको स्वरूपसमेत लिएको जनाएको छ ।
पार्टीले नागरिकमाथि गोली चलाइएको घटनाको कडा शब्दमा भत्र्सना गरेको छ । घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गर्दै नेकपाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

साथै मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ।
नेकपाले परिस्थिति थप जटिल बन्न नदिन सरकार र सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गर्दै वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।
सामाजिक सद्भाव, आपसी एकता र जनविश्वास कायम राख्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय समुदायलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि नेकपाले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस