२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु, ३५ करोड ६३ लाख लागत

शुक्रवार , फाल्गुण ९, २०८१

म्याग्दी । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने छन् ।

३५ करोड ६३ लाख ३९ हजार सात सय २७ रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा २८ करोड ५० लाख १२ हजार सात सय ५५ रुपैयाँमा जिएटिआरसी–प्यागोडा–सासा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

आयोजना प्रमुख इन्जिनियर सुमन थापाले ठेकेदार कम्पनीले रघुगंगा गाउँपालिका–६ करेन्टखोलामा मुहान, मुख्य पाइप लाइन र पानी प्रशोधन केन्द्रको संरचना निर्माण सुरू गरेको जानकारी दिए । ठाडाखानीमा यसै आर्थिक वर्षभित्रमा योजनामार्फत खानेपानी वितरण गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए ।

“यस वर्ष विनियोजन भएको तीन करोड रुपैयाँ भन्दा बढीको काम भइसकेको छ”, आयोजना प्रमुख थापाले भने, “विसं २०८१ असार २४ गते सम्झौता भएको योजना २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ ।” संघीय सरकारको खानेपानी मन्त्रालयको केन्द्रीय खानेपानी कार्यक्रममा विसं २०७३ देखि समावेश भएको यो योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र संघीयता कार्यान्वयनपछि जिल्ला सभाले म्याग्दीको गौरवको आयोजनाको सूचीमा समावेश गरेको छ ।

बेनी नगरपालिका–५, ६, ९, १० नम्बर वडा, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी योजना निर्माण गर्न पछिल्लो पटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।

योजनामार्फत १६ हजार एक सय ८६ जनसङ्ख्या लाभान्वित हुने आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए । रघुगंगा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्यांकीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।

मुहान, ७६ दशमलव २९ किलोमिटर मुख्य र ८६ दशमलव २४ किलोमिटर वितरण पाइप लाइन, पानी प्रशोधन प्लान्टलगायत संरचना ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । ४८ करोड १६ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागिता उपभोक्ताको रहने छ । उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले स्रोत सुनिश्चतता गरेका छन् ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले करिब एक दशकको प्रयासमा घोप्टेखोला खानेपानी योजना कार्यान्वयनमा आएको बताए । “४८ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि डिपिआर स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नुहँदा कार्यान्वयन हुनसकेको थिएन”, उनले भने, “२०८० फागुनमा अर्थ मन्त्रालयले ३७ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन सुरू भएको हो ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट