२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’ निर्माण

मंगलवार , फाल्गुण १३, २०८१

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका– ३ स्थित लौठचौरमा निर्माण हुने भनिएको ‘कर्णाली हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’को काम अझै अघि बढेको छैन । तालिम केन्द्रको नाममा जग्गा पास नहुँदा निर्माण रोकिएको छ ।

विद्यालयको नाममा रहेको जग्गामा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद हुँदा अहिले निर्माण अघि नबढेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुंगो लगाई ट्रेनिङ निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । विद्यालयको जग्गा छोडेर बाँकी रहेको जग्गामा समेत उक्त ठाउँमा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्न सकिन्छ । जग्गा विवाद देखाएर सरकारबाट विनियोजन भएको बजेट सदुपयोग गर्न नदिने खेल भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

विश्वको सर्वाधिक उचाइमा धान फल्ने पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य ट्रेनिङ सेन्टरले लिइएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ ।

विभिन्न चरणमा गरेर सरकारको करिब तीन करोड पैसा ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ । ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासिले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८१ / ८२ मा ६ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । स्थानीय पुर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार बजेट ट्रेनिङ सेन्टरको नाममा विनियोजन भएको आयोजनाका सुचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

यो आर्थिक वर्ष भित्र उक्त बजेट खर्च गरिसक्नु पर्ने हुन्छ । जग्गा पास नहुदाँ हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरको काम रोकिएको शहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सुचना अधिकारी खड्काको भनाइ छ । जिल्ला खेलकुद विकास समिति जुम्लाले हाइअल्टिच्युट मैदानको डिपिआर भने ३२ करोड तीन लाख बजेटको बनेको छ ।

१० लाख बजेटमा चिमारा इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार गरेको थियो । विसं २०७४ पुस ३ मा युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गरेका थिए  । यसपछि विद्यालयको जग्गा र स्थानीय बासीको जग्गामा रंगशालाको निर्माण कार्य थालिएको थियो । पटक पटकको करिव तीन करोड बजेटमा मैदान समथलमा खर्चभइसकेको छ ।

हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ । त्यसैगरी स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ ।

संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुने छ । खेल पर्यटन प्रवद्र्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्यूला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट