२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सरकार फोस्रा भाषणले जनताको आँखामा छारो हाल्न व्यस्त छ : सांसद श्रेष्ठ

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले संसदमा उठाएका समस्या समाधानमा सरकारले ध्यान नदिएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले भने- 'चुरे पहाडको काखदेखि भारतीय सिमासम्म जोडिएको मेरो निर्वाचन क्षेत्रका जनताका समस्या मैले धेरैपटक यो संसदमा उठाएको छु तर कार्यान्वयन गर्ने सरकारले मेरो कुरा सुन्दैन, अब मलाई जिताएका जनताले यो संसद र सरकारमाथी केका आधारमा भरोसा गर्ने ?'

उनले यो संसद र सरकारप्रति के का आधारमा भरोसा गर्ने भन्दै प्रश्न गरेका छन् । उनले भने- 'सरकार फोस्रा भाषणले जनताको आँखामा छारो हाल्न व्यस्त छ, मेरो निर्वाचन क्षेत्रका जनताले यो संसद र सरकारप्रति के का आधारमा भरोसा गर्ने, सभामुख महोदय यो बडो चिन्ताको विषय छ , जनतालाई केहि चाहिएको छैन । सभामुख महोदय ।'

सांसद श्रेष्ठले संसदमा राखेको भनाई जस्ताको त्यस्तैः

सम्माननीय सभामुख महोदय,

म मधेस प्रदेश बारा जिल्ला क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको हुँ । चुरे पहाडको काखदेखि भारतीय सिमासम्म जोडिएको मेरो निर्वाचन क्षेत्रका जनताका समस्या मैले धेरैपटक यो संसदमा उठाएको छु तर कार्यान्वयन गर्ने सरकारले मेरो कुरा सुन्दैन, अब मलाई जिताएका जनताले यो संसद र सरकारमाथी केका आधारमा भरोसा गर्ने ?

अमलेखगञ्जका जनता पानी मागिरहेका छन्, चकरीका जनता बन्यजन्तुबाट जिउज्यान र बालीनालीको सुरक्षा मागिरहेका छन् । पथलैयाका जनता लालपुर्जा मागिरहेका छन् । सिमरा र परवानीपुरका जनता प्रदुषण मुक्त बस्ती मागिरहेका छन् । जीतपुरका जनता सुरक्षित व्यवसायिक वातावरण मागिरहेका छन् । पर्सौनी, फेटा र विश्रामपुरका जनताहरु खेतमा हाल्ने मल र सिंचाई मागिरहेका छन् । तर सरकार फोस्रा भाषणले जनताको आँखामा छारो हाल्न ब्यस्त छ, मेरो निर्वाचन क्षेत्रका जनताले यो संसद र सरकारप्रति के का आधारमा भरोसा गर्ने, सभामुख महोदय यो बडो चिन्ताको विषय छ , जनतालाई केहि चाहिएको छैन । सभामुख महोदय ।

मेरो निर्वाचन क्षेत्र जितपुर वजारमा होलीको दिन १ गते राती ९ः३० वजे जीतपुरसिमरा उपमहानगरपालिकाका ७ नम्बर वडाका बरिष्ठ समाजसेवी परशुराम गिरी तथा वहाको छोरा नेपाली कांग्रेसका वड़ा सभापति राजेश गिरीको घरमा सोही वडाका वडाध्यक्ष आफ्नो २०र२५ जना लठैत समुह लिएर कुटपिट तोडफोड गर्न गए । त्यो समुहले घरभित्र छिरेर आफ्ना छोरा नातीहरुलाई कुटपिट गर्न थाले पछि सहन नसकी ७८ वर्षीय वृदले आफ्नो परिवारको सुरक्षाको लागी लाइसेन्स प्राप्त बन्दुक निकालेर हवाइ फायर गर्नुपर्ने स्थिती बन्यो र यदि हवाई फायर नगरेको भए उहाको परिवार लाई सखाप पार्ने थिए।ति वडाध्यक्ष यसअघिपनि आपराधिक उपद्रव मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् तर हिजो आइतबार राजनीतिक दबाबमा परेर घाईते पिडितलाईनै मुद्दा चलाउने र पिडकलाई उन्मुक्ती दिने कार्य बारा जिल्ला प्रशासनले गरेको छ ।

पञ्चायती शासनलाई समेत माथ ख्वाउने गरी बाराका सिडिओले काम गरिरहेका छन् । म यस सम्मानित सदन मार्फत जीतपुर घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । बारा जिल्ला त्यसमा पनि खासगरी मेरो निर्वाचन क्षेत्रका व्यवसायी र आम नागरिकले प्रशासनबाट अनावश्यक दुःख झेली रहेका छन म माननीय गृहमन्त्रीज्युलाई बारा जिल्ला प्रशासनलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दछु ।

सभामुख महोदय, यो सदन आवाज विहीनहरुका पक्षमा हुनुपर्छ । बारा जिल्लामा जनताले सरकार भएको अनुभुती गर्नै पाएका छैनन् । जीतपुरका बालक अंश जयसवालको मृत्यु प्रकरण, कलैयाको सुधार केन्द्रमा भएको हत्या प्रकरण लगायत थुप्रै काण्डहरुको अनुसन्धानमा त्यहाँको प्रहरी प्रशासनले न्याय दिएको अनुभुती पिडित परिवारले गर्न पाएका छैनन् सभामुख महोदय, सरकार र सरकारका जिम्मेवार निकाय जनताका साना साना समस्याहरुमा संवेदनशील बन्न जरुरी छ । अन्यथा हामी कसैमाथी पनि जनताले भरोसा गर्ने छैनन् । हेक्का रहोस् । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट