काठमाडौं । उच्च अदालतले जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाइ दिएको छ ।
बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन् ।
२०६४ चैत २७ गते रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । उक्त घटनाको १२ वर्षपछि आलमलाई २०७६ असोज १९ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।
उच्च अदालत वीरगञ्जका अनुसार आलमसहित चार जनाले सफाइ पाएका हुन् ।
बम बिस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितलाई घटना सार्वजनिक हुन नदिन जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस