काठमाडौं । हाम्रो भान्सामा भएको आलु कतिपय अवस्थामा उम्रिएको वा हरियो रङ्गको हुने गर्छ । यस्तो अवस्थामा त्यो आलु खानु कि फ्याँक्नु भन्ने दुविधा जो कसैलाई पनि हुन सक्छ ।
आलुमा टुसा (अंकुर) निस्किएपछि खानु उचित हो या होइन भन्ने विषयमा मानिसहरूको धारणा फरक-फरक हुने गरेको छ । तर, वास्तवमा गर्ने चाहिँ के हो त ? आज हामी यहाँ उल्लेख गर्छौँ ।
आलु अंकुरित भएको छ भने के गर्नुपर्छ ?
आलु अंकुरित हुनु भनेको त्यो बिरुवा बन्ने प्रक्रियामा रहेको संकेत हो। यस प्रक्रियामा आलुमा ग्लाइकोएल्कलाइड नामक विषालु पदार्थको मात्रा बढ्न थाल्छ। यस पदार्थले बिरुवालाई ढुसी र किराबाट जोगाउँछ। यीमध्ये सोलानिन एक यौगिक हो, जुन आलुको साथै गोलभेँडा, भण्टा र सिमलामिर्चमा पनि पाइन्छ।
आलु काट्दा वा लामो समयसम्म भण्डारण गर्दा यस विषालु यौगिकको मात्रा अझ बढ्न सक्छ। त्यसैले अंकुरित वा धेरै समयसम्म राखिएको आलु मानिस र जनावर दुवैको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
युकेको यूनिभर्सिटी अफ लिंकनका पोस्टहार्वेस्ट टेक्नोलोजीका विशेषज्ञ डा. क्रिस बिशप भन्छन् ‘आलुमा सबैभन्दा ठूलो खतरा ग्लाइकोएल्कलाइडको हुन्छ। यसले आलुमा तीतोपन ल्याउँछ र यसका कारण वाकवाकी लाग्ने वा बान्ता आउन पनि सक्छ । त्यसैले हरियो रङमा परिवर्तन भएको आलु नखानु उपयुक्त हुन्छ।’
डा. क्रिस बिशपका अनुसार यस्तो अंकुर भएको भागमा विषालु यौगिकको मात्रा धेरै हुने सम्भावना हुन्छ। त्यसैले यस्तो अंकुर पूरै हटाउनु आवश्यक हुन्छ।
यदि तपाईंलाई कुनै शंका छ भने जहाँबाट अंकुर निस्केको छ, त्यहाँको भाग काटेर हटाउनु उचित हुन्छ।
बेलायतको फूड स्टान्डर्ड्स एजेन्सीले पनि केही सावधानी अपनाइएमा अंकुरित आलु खान सकिने बताएको छ। यदि अंकुर निस्किसकेपछि पनि आलु कडा छ र कुहिएको संकेत छैन भने त्यसलाई पकाएर खान सकिन्छ। तर, यदि आलु हरियो देखिन्छ भने त्यस्तो आलु फ्याँक्नु नै राम्रो हुन्छ, किनभने हरियो रङ विषालु पदार्थको संकेत हो।
सन् १९७० को दशकको अन्त्यतिर बेलायतमा ७८ जना स्कूलका बालबालिकालाई हरियो आलु खाएपछि अस्पताल भर्ना गर्नु परेको थियो। यद्यपि, अत्यन्तै कम मात्रामा वा यस्ता थोरै आलु खाँदा गम्भीर असर हुने सम्भावना धेरै कम हुन्छ।
उम्रिएको वा हरियो आलु धेरै खाँदा देखिने लक्षणहरू
पखाला
वान्ता
पेट दुखाई
अत्यधिक निद्रा लाग्ने
मानसिक भ्रम
कमजोरी
दृष्टिसम्बन्धी समस्या
केही अवस्थामा बेहोस हुन सक्ने र मृत्यु पनि हुन सक्ने खतरा रहन्छ।
विषाक्त आलु खाएपछिको लक्षण केही मिनेटभित्रै वा केही दिनमै देखिन सक्छ।
आलु कसरी सुरक्षित रूपमा भण्डारण गर्ने ?
आलुलाई ३ देखि १० डिग्री सेल्सियसको बीचमा, सुक्खा र अँध्यारो स्थानमा राख्नु उपयुक्त हुन्छ।
आलु भण्डारण गर्नु अघि धुनु हुँदैन किनभने यसले आलु कुहिन सक्छ ।
आलुलाई प्याजबाट टाढा राख्नुहोस् किनभने दुबैबाट ग्यास निस्कन्छ, जसले अंकुरण बढाउँछ।
(बीबीसी हिन्दीमा आधारित)
प्रतिक्रिया दिनुहोस