काठमाडौं । बंगलादेशको गोपालगंज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएको छ।
हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगंज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो।
बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए।
प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।
हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको र उनीहरू दीप्टो साहा, रमजान काजी, सोहेल मोल्ला रहेका छन् ।
चिकित्सकका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो ।
हिंसाको बाबजुद पनि एनसीपी ले गोपालगञ्जमा र्याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस