काठमाडौं । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
मानवताको सेवामा गर्नुभएको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर संघर्ष गरेका थिए।
यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, संघर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रुपान्तरण गर्न सक्छ भन्ने देखाएको बताएका छन् ।
नेता मन्डेलाको स्वतन्त्रता, न्याय र समानताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर काम गर्न विश्ववासीलाई महासचिव गुटरेसले आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस