काठमाडौँ । दशैँमा घर जाने यात्रुको भीडलाई व्यवस्थित गर्न सरकारले नेपालकै पहिलो नागढुङ्गा–नौबिसे सुरुङमार्ग अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।
ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले शनिबार मन्त्रालयमा बोलाएको आकस्मिक बैठकमा सुरुङमार्ग खोल्ने विषयमा विस्तृत छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सुनौलो नेपाललाई जानकारी दिए ।
हालसम्म औपचारिक रूपमा सरकारलाई हस्तान्तरण नभए पनि निर्माण कम्पनीलाई सुरुङ खोल्न अनुरोध गर्ने सहमति भएको छ। यससँगै दशैँमा काठमाडौँबाट बाहिरिने र चाडपर्वपछि राजधानी फर्किने सवारी साधनलाई सुरुङ प्रयोग गर्न दिने निर्णय भएको शर्माले बताए ।
बैठकमा यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुको चाप कम गर्न सुरुङ तत्काल खोल्न माग गरेपछि मन्त्री घिसिङले निर्माण कम्पनीसँग छलफल गरेपछि खोल्ने भनेका थिए ।
त्यस्तै, दशैँ–तिहार अवधिमा यातायात व्यवस्थापन, सडकमा हुने सम्भावित अवरोध र दुर्घटनाको जोखिम न्यूनीकरणका लागि कार्यदल गठन गर्ने निर्णय पनि भएको छ । मन्त्री घिसिङले चाडपर्वमा यात्रुहरूलाई सहज सेवा दिन "फास्ट ट्र्याक" ढंगले काम गरेर तत्काल समाधान ल्याइने बताए। यातायात व्यवसायीहरूले पनि राति मात्र नभई दिनमा समेत रात्रिबस सञ्चालन गर्न माग गरेका छन् ।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायत सरोकारवाला निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस