काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएको कम्पनीमा शेयर स्वामित्व रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन् ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङको नाममा प्रत्यक्ष शेयर रहेको कागजात सार्वजनिक भएपछि उनको राजीनामाको माग समेत उठ्न थालेको छ । यही विवादबीच उनी आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।
राति करिब ८ बजे पुगेका गुरुङ करिब दुई घण्टा छलफलपछि निस्किएको स्रोतले जनाएको छ । भेटका क्रममा राजीनामाबारे उठेको दबाब, राजनीतिक अवस्था र पार्टीभित्रको अवस्थाबारे छलफल भएको बताइएको छ ।
पार्टी स्रोतका अनुसार भेटका बेला प्रधानमन्त्री बालेन्द्र शाहसँगको संवादको विषय पनि उठेको थियो । सभापति लामिछानेले भने निर्णय पार्टी बैठकमै छलफल गरेर अघि बढ्ने बताएका छन् ।
विवाद चुलिँदै जाँदा गृहमन्त्री गुरुङमाथि राजनीतिक दबाब थपिएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस