काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निजी क्षेत्रलाई सहयोगी व्यवहार गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
विराट व्यापार संघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रप्रति प्रतिसोध होइन, सहकार्यको भावना आवश्यक रहेको स्पष्ट पारे ।
उनले निजी क्षेत्र कमजोर हुँदा देशको समग्र आर्थिक अवस्थामा प्रतिकूल असर पर्ने उल्लेख गर्दै कोशी प्रदेश सरकार निजी क्षेत्रका जायज मागमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे । औद्योगिक, राजनीतिक र प्रशासनिक दृष्टिले महत्वपूर्ण स्थानका रूपमा रहेको विराटनगरले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले राजनीतिक शक्ति संरचनामा परिवर्तन भए पनि व्यवस्था उही रहेको उल्लेख गर्दै औद्योगिक तथा वाणिज्य क्षेत्र अझै दबाबमा रहेको र विभिन्न कारणले पूर्ण रूपमा उठ्न नसकेको बताए । साथै, उनले नेपाल अब राजनीतिक स्थायित्वतर्फ अघि बढ्दै आर्थिक रूपमा पनि सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष अंशु बञ्जडाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की सहित उद्योगी–व्यवसायीका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आआफ्नो धारणा राखेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस