काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको अधिकार हनन् गर्ने सरकारको औचित्य हुन नसक्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा साम्पाङले भूमिहीन सुकुम्वासीमाथि डोजर चलाएर सरकारले नागरिकको अधिकार हनन् गरेको भन्दै संविधान र नागरिकको अधिकार उलंघन गर्ने सरकारको कुनै औचित्य नहुने बताएका हुन् ।
सरकारले आफै विधि मिचेर अध्यादेश ल्याएको भन्दै उनले आपत्ति जनाए । उनले संसद छल्नु भनेको जनमत नमान्नु भएको उल्लेख गर्दै सरकार आफुले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । त्यस्तै उनले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाए ।
बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सरकारले सुकुम्वासीको उद्धार गरेको नभई उठीबास लगाएको बताइन् । उनले अध्यादेश ल्याएर सरकारले सदनलाई छाँयामा पार्न खोजेको आरोप लगाइन् ।
सांसद ओलीले संविधानलाई मिचेर नभइ संविधान अनुसार चल्न समेत सरकारलाई सुझाव दिइन् ।
प्रतिक्रिया दिनुहोस