काठमाडौं । नेपालमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।
कीर्तिपुरमा नेपालले बनाएको यो हालसम्मकै सर्वाधिक योगफल हो । यसअघि नेपालले ओमानविरुद्ध ३१० रनको योगफल बनाएको थियो ।
नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ८४ रनको उत्कृष्ट पारी खेले । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ४ चौका र छक्कासहित ५९ रन बनाए । कप्तान रोहित पौडेल ५९ बलमा ४६ रन बनाएर आउट भए । कुशल भुर्तेलले २९ र आसिफ शेखले ४३ रनको योगदान दिए ।
बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिए । मिलिन्द कुमार र रुशिल उगारकरले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस