काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह पक्राउ परेका छन् । नागरिकता लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान सिंहलाई ठोरीबाट नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । जेठ १२ गते जारी भएको थियो पक्राउ पुर्जीमेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत किर्ते गरेको अभियोगमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
स्थानीय लियाकत अलीले सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले अनुसन्धानका लागि प्रहरीलाई पक्राउ अनुमति दिएको थियो । यसअघि सोमबार मात्रै प्रहरीले मेयर सिंह लुकेको स्थान पत्ता लगाउन उनका स्वकीय सचिव सत्यराज घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो ।
के हो नागरिकता किर्ते प्रकरण ?
मेयर सिंहमाथि नक्कली बुबा बनेर झुटो विवरणका आधारमा एक युवतीलाई नेपाली नागरिकता दिलाएको गम्भीर आरोप छ। वि. सं. २०७५ साउन १३ गते वीरगञ्ज महानगरपालिका वडा नं. ३ बस्ने रुविना श्रेष्ठले लिएको नेपाली नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । सोही नागरिकताको प्रतिलिपि २०७६ फागुन ८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो । अरूको छोरीलाई आफ्नो छोरी दाबी गरी झुटा कागजात खडा गरेर नागरिकता दिलाएको भन्दै गृह मन्त्रालयले समेत यस विषयमा उपसचिव पुस्कर रानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
अदालतको आदेश र पुर्जीका आधारमा पक्राउ परेका मेयर सिंहलाई आवश्यक कानुनी कारबाही र बयानका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस