काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनसहित उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा नेपाल र भारतका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा दुई देशबीचको आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
सभापति लामिछाने भाजपा अध्यक्ष नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटघाट तथा अन्य कार्यक्रमलाई सहज बनाउन आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस