काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीन जना नेतासँग स्पष्टीकरण मागेको छ ।
समितिले खड्कासँगै संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई लिखित जवाफ पेश गर्न पाँच दिनको समय दिएको हो ।
अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा उनीहरूमाथि पार्टीको विधान र अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । समितिका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठविरुद्ध संगठित रूपमा अन्तर्घात गरिएको भन्दै उजुरी परेको थियो।
स्पष्टीकरण पत्रमा धर्मदेवी नगरपालिका क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा दीपक खड्काले पार्टी नेतृत्व र नीतिविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा कांग्रेसको विजयप्रति नै शंका व्यक्त गर्दै कार्यकर्तालाई आफ्नो इच्छाअनुसार काम गर्न उक्साएको उल्लेख गरिएको छ । त्यस्तै, कुमार बाबु अधिकारी र थलकुमार लिंखाले खड्काको निर्देशनमा संगठनविरोधी गतिविधि गरेको आरोप पनि लगाइएको छ । उनीहरूले आफ्ना समर्थक तथा कार्यकर्तालाई चुनावी कार्यक्रममा सहभागी नहुन आग्रह गरेको र बाहिर कांग्रेसका लागि मत मागेजस्तो देखिए पनि भित्री रूपमा विपक्षी उम्मेदवारलाई सहयोग गरेको दाबी गरिएको छ ।
अनुशासन समितिले यस्ता गतिविधि पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघनको विषय भएको जनाएको छ । त्यसैले उनीहरूलाई किन कारबाही नगर्ने भन्ने आधारसहित पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न अन्तिम अवसर दिइएको हो कांग्रेस अनुशासन आयोगका सचिव दिनेश थापाले भने । समितिले तोकिएको अवधिमा सन्तोषजनक जवाफ प्राप्त नभए पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने सचिव थापाले जानकारी दिए ।
७७६ विरुद्ध उजुरी
प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उमेदवारहरुलाई असहयोग गरेको आरोपमा देशभरका ७७६ कांग्रेस नेता कार्यकर्ता माथी पार्टी अनुशासन आयोगमा उजुरी दर्ता भएको छ । उजुरीको संख्या धेरै छ,बैठक बसेर क्रमश उजुरी उपर छानबिन गरीरहेका छौ सचिव थापाले भने । पुर्व कार्यसमितिका केन्द्रीय पदाधिका्री,केन्द्रीय सदस्य हुदै जिल्ला र गाउँ तहका नेता कार्यकर्ता सम्मलाई कारवाहीको माग गर्दै अनुशासन आयोगमा उजुरी परेको थापाले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य एवम पुर्व मन्त्री मोहनबहादुर बस्नेत सहित सिन्धुपाल्चोक ८ बढी नेतालाई कारवाहीको माग गर्दै उजुरी दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस