काठमाडौं । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दक्षिण कोरियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ । मेक्सिकोको ग्वाडालजारामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
यस जितसँगै १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले विश्वकप इतिहासमा चेक रिपब्लिकविरुद्ध पहिलो जित दर्ता गरेको । विश्वकपको पहिलो खेलमै दक्षिण कोरियाले जित निकालेको यो चौथो अवसर हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेक रिपब्लिकले ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीको गोलमार्फत अग्रता लिएको थियो । तर, खेलको ६७औँ मिनेटमा ह्वाङ इनबियोमले गोल गर्दै दक्षिण कोरियालाई १–१ को बराबरीमा फर्काए ।
खेलको ७७औँ मिनेटमा थोमास सुसेकले हेडमार्फत गोल गरे पनि अफसाइडका कारण उक्त गोलले मान्यता पाएन । त्यसपछि ८०औँ मिनेटमा ओह ह्योङ-युले उत्कृष्ट गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि ओह ह्योङ–युको गोल नै दक्षिण कोरियाको जितको आधार बन्यो ।
यो जितसँगै दक्षिण कोरियाले ३ अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको आयोजक मेक्सिको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
पराजित चेक रिपब्लिक तेस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका अंकविहीन रहँदै समूहको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस