काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहासमा नाम दर्ज गराउने अवसर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष रहेको बताएका छन् ।
इप्पानको २६औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले विगतमा ऊर्जा क्षेत्रको नेतृत्वदायी भूमिकाका लागि शैलजा आचार्यलाई स्मरण गरिने गरेको उल्लेख गर्दै अब त्यही स्थानमा मन्त्री श्रेष्ठको नाम स्थापित हुन सक्ने धारणा व्यक्त गरे ।
उनका अनुसार सरकारले २०४९ सालमा ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराउने नीति लिएको परिणामस्वरूप नेपाल लोडसेडिङमुक्त मात्र नभई विद्युत् व्यापारको चरणमा पुगेको हो। निजी क्षेत्रको सहभागिता नभएको भए मुलुकले अझै पनि लामो समयसम्म विद्युत् अभाव झेल्नुपर्ने अवस्था रहने उनको भनाइ थियो ।
कार्कीले हालै सार्वजनिक भएको नीति तथा कार्यक्रम र बजेटले निजी क्षेत्रका धेरै मागहरूलाई सम्बोधन गरेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे। उनले ‘टेक अर पे’ मोडलमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था तथा १८० दिनभित्र पीपीए सम्पन्न गर्ने प्रावधान सकारात्मक रहेको बताए।
अघिल्ला वर्षहरूमा पनि बजेटमा विभिन्न व्यवस्था समेटिए पनि कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै उनले यसपटक भने सरकारप्रति बढी आशावादी रहेको बताए। निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका विषयहरू नीति तथा कार्यक्रम र बजेटमा समेटिएकाले कार्यान्वयन हुने विश्वास उनले व्यक्त गरे।
त्यस्तै, धितोपत्र बोर्ड (सेबोन) मा लामो समयदेखि रोकिएका जलविद्युत् कम्पनीहरूको आईपीओ स्वीकृति प्रक्रियालाई पनि छिटो टुंग्याउन उनले सरकारको ध्यानाकर्षण गराए। आवेदन दिएको दुई–तीन वर्ष बितिसक्दा पनि स्वीकृतिको टुंगो नलागेकाले लगानीकर्ताहरू अन्योलमा परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस