पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नवीन त्रिपाठी विजयी भएका छन् । पोखरामा सम्पन्न अधिवेशनमा बहालवाला प्रदेश सभापति एवं प्रतिनिधिसभा सदस्य (सांसद) राजन गौतमलाई पराजित गर्दै त्रिपाठी रास्वपा गण्डकीको कमान्ड सम्हाल्न सफल भएका हुन् ।
शनिबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार विजयी त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राजन गौतमले १ सय ८२ मत मात्र पाए । रास्वपाको विधानअनुसार विजयी हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने प्रावधान त्रिपाठीले पहिलो चरणमै पूरा गरेका हुन् ।
सभापतिका अन्य दुई उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरे । शुक्रबार राति सुरु भएको मतदान प्रक्रिया शनिबार बिहान सकिएलगत्तै मतगणना गरिएको थियो ।
कुल ३३ सदस्यीय नयाँ प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा ५१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये क्षेत्रगततर्फ २८ उम्मेदवारमध्ये १८ जना र समावेशीतर्फ २३ उम्मेदवारमध्ये १५ जना निर्वाचित हुने व्यवस्था छ । समावेशी तर्फका विजयी सदस्यहरूको पूर्ण विवरण भने आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि नै विभिन्न क्लस्टरबाट १२ जना प्रदेश सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस