चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पहिलो चरणको मतदान सम्पन्न भएको छ। कुल ४ हजार ३ सय ११ प्रतिनिधिमध्ये २ हजार ९ सय ५९ जनाले मात्रै मतदान प्रक्रियामा भाग लिएका छन्।
विद्युतीय भोटिङ सेवा प्रदायक कम्पनी 'रामलक्ष्मण इनोभेसन' का रामप्रसाद रिमालका अनुसार चुनावमा १ हजार ३ सय ५२ प्रतिनिधि अनुपस्थित रहेका छन्।
महाधिवेशनको फितलो व्यवस्थापन र निर्वाचन प्रक्रियामा भएको अत्यधिक ढिलाइका कारण धेरै प्रतिनिधिहरू मतदान नै नगरी घर फर्किएकाले खसेको मतको संख्या कम भएको रास्वपाका एक नेताले बताए।
पार्टीको ९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय ८४ जना चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन समितिले पहिलो चरणको मतदानको परिणाम सार्वजनिक गरेलगत्तै पदाधिकारी चयनको दोस्रो प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस