विराटनगर । कोशी प्रदेशसभाले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश–२०८३ लाई प्रतिस्थापन गर्ने विधेयक पारित गरेको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । पारित विधेयकअनुसार प्रदेश खेलकुद बोर्डमा एक सदस्यसचिव, दुई उपाध्यक्ष र १३ सदस्य रहने व्यवस्था गरिएको छ । यसअघि बोर्डमा एक सदस्य सचिव, एक उपाध्यक्ष र नौ सदस्य रहने कानुनी व्यवस्था थियो ।
प्रदेश सरकारले गत वैशाख २८ गते प्रदेशसभा अधिवेशन सुरु हुनुअघि अध्यादेश जारी गर्दै प्रदेश खेलकुद ऐन संशोधन गरेको थियो । त्यसबेला सरकारले अध्यादेशमार्फत राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने उद्देश्य राखेको भन्दै विपक्षी दल तथा विभिन्न क्षेत्रबाट आलोचना भएको थियो ।
विशेषगरी, संघीय सरकारले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश जारी गर्दा सार्वजनिक रूपमा विरोध जनाएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वकै कोशी प्रदेश सरकारले पनि प्रदेशसभाको अधिवेशनअघि अध्यादेश ल्याएको भन्दै विरोध भएको थियो ।
प्रदेश खेलकुद बोर्डको सदस्यसचिव पद गत कात्तिकदेखि रिक्त रहेको थियो । रिक्त पदमा नयाँ सदस्यसचिव नियुक्त गर्नुका साथै बोर्डमा थप एक उपाध्यक्ष र सदस्यहरू नियुक्त गर्ने कानुनी आधार तयार गर्न अध्यादेश जारी गरिएको थियो ।
अध्यादेश जारी भएसँगै सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमतिअनुसार प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरूको नियुक्ति भइसकेको छ । अब प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित भएसँगै अध्यादेशलाई कानुनी मान्यता प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस