२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

धरान औद्योगिक क्षेत्रमा निष्क्रिय उद्योगको लिज रद्द, ३५ करोड लगानीमा ५ नयाँ उद्योग थपिए

बुधवार , आषाढ २४, २०८३

सुनसरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् ।

नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले राससलाई जानकारी दिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थप गरेको उनले बताए ।

नयाँ थपिएका उद्योगहरू प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स तथा सूर्य डायमन्ड इन्डस्ट्रिज छन् ।

सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बञ्जाडेले बताए । उनका अनुसार नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको हो ।

उनले भने, “निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीबमोजिम सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरणको प्रक्रिया पूरा गरेपछि नयाँ उद्योगसँग सम्झौता गरिएको हो ।”

सञ्चालनको तयारीमा रहेका उद्योगमध्ये प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालिले पानीका मिटर तथा फिटिङ सामग्री, जिडी स्टिल इन्डस्ट्रिज प्रालि र जेआर भेन्चर्स प्रालिले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार तथा सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन् ।

उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको प्रमुख बञ्जाडेले बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति गर्नाका साथै केही वस्तु निर्यात गर्ने सम्भावना पनि रहेको उनको भनाइ छ ।

धरान औद्योगिक क्षेत्रमा प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् ।

विसं २०२९ मङ्सिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ । २०२ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रको १४३ रोपनी १४ आना जग्गा भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी जग्गा ‘युटिलिटी’ सेवाका लागि प्रयोग गरिएको छ ।

हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन् । तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन् । सञ्चालनमा रहेका उद्योगमा ८०० पुरुष र २०० महिला गरी एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब रु दुई अर्बभन्दा बढी तथा सरकारी क्षेत्रबाट करिब रु एक अर्ब ७० करोडभन्दा बढी लगानी रहेको प्रमुख बञ्जाडेले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट