काठमाडौं । प्रदेश सभाका बैठकहरू अब केवल भाषण, आरोप–प्रत्यारोप र नाराबाजीमा सीमित छैनन् । कतै सांसद रोस्ट्रममै उभिएर गीत गाउँदै सरकारको विरोध गरिरहेका छन् भने कतै मन्त्री–सांसदबीच मातृभाषामै प्रश्न–उत्तर भइरहेको छ । पछिल्ला केही दिनमा कोशी र बागमती प्रदेश सभामा देखिएका यी दृश्यले प्रदेश संसदको राजनीतिक अभिव्यक्तिलाई नयाँ र रोचक मोड दिएका छन् ।
कोशी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोम्बु शेर्पाले बजेटमाथिको छलफलका क्रममा बोल्ने समय पाएपछि भाषण गरेनन्, बरु रोस्ट्रममै उभिएर आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपलाई लक्षित गर्दै गीत गाएर बजेट वितरणको शैलीमाथि तीखो व्यंग्य गरे।
उनले भाका मिलाउँदै गाए–
मन्त्री मान्यौ १४ वटै जिल्लाको,तिमी रैछौ त्यही आफ्नै जिल्लाको
ए त्यो लोभी मन, मनपरी लग्यौ प्रदेशको साझा धन,
एकलौटी लग्यौ जनताको साझा धन
भान्छे तिमी साह्रै न लोभी,पस्कियौ भात भाँडोमा मुख जोती
एक्लैले लग्यौ सबैको साझा धन...”
सोलुखुम्बुबाट निर्वाचित सांसद शेर्पाले मन्त्री लिङथेपले बजेटमा आफ्नै जिल्ला र क्षेत्रलाई प्राथमिकता दिएको आरोप लगाउँदै गीतमार्फत विरोध जनाएका हुन् । गीत सकिएलगत्तै उनी कुनै थप टिप्पणी नगरी आफ्नो स्थानमा फर्किएका थिए ।
उनको यो शैलीको भिडियो सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा तीव्र रूपमा फैलिएको छ । धेरै प्रयोगकर्ताले यसलाई ‘संसदमा विरोधको नयाँ शैली ’भन्दै प्रशंसा गरेका छन् भने कतिपयले व्यंग्यात्मक अभिव्यक्तिले बजेट वितरणमा देखिएको असन्तुष्टि प्रभावकारी रूपमा उजागर गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालको कमेन्टमा सासंद शेर्पाको स्वर समेत राम्रो भएको टिप्पणीकर्ता समेत धेरै भेटिएका छन् ।
प्रतिनिधि सभामा बेला–बेला गीतका हरफ वा कविताका टुक्का उद्धृत गर्ने अभ्यास देखिए पनि कुनै सांसदले पूरा गीत गाएर विरोध जनाएको दृश्य भने दुर्लभ मानिएको छ ।
बागमती प्रदेश सभामा पनि संसदको माहोल फरक ढंगले रोचक बन्यो। विनियोजन विधेयकमाथिको छलफलका क्रममा राप्रपाका सांसद नुरज बज्राचार्यले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई नेपाल भाषा (नेवारी) मा प्रश्न गरे। त्यसको जवाफ मन्त्री तामाङले आफ्नै तामाङ भाषामा दिए।
सांसद बज्राचार्यले आफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएका योजना किन बजेटमा समावेश भएनन् र सिलिङभित्रका योजनासमेत किन हटाइए भन्ने जिज्ञासा नेपाल भाषामै राखेका थिए। त्यसपछि सभामुख अप्सरा चापागाईंले प्रश्न नेपालीमा अनुवाद गरी मन्त्रीलाई उपलब्ध गराउन निर्देशन दिएकी थिइन्।
अन्य पाँच सांसदले नेपालीमै प्रश्न गरे पनि मन्त्री तामाङले नेवारी भाषामा आएको प्रश्नको उत्तर तामाङ भाषामै दिएपछि प्रदेश सभा हल केहीबेर हाँसोले गुञ्जियो। केही सांसदले टेबल ठोक्दै समर्थन जनाए भने दुवै भाषा नबुझ्ने सांसदहरू भने केही समय अन्योलमा परेका थिए।
बागमती प्रदेशमा नेपाल भाषा (नेवारी) र तामाङ भाषा सरकारी कामकाजका आधिकारिक भाषासमेत हुन्। यसअघि मातृभाषामा बोलेका सांसदहरूले आफ्नै भनाइ नेपालीमा दोहोर्याउने अभ्यास रहे पनि फरक–फरक मातृभाषामा प्रत्यक्ष प्रश्न–उत्तर भएको दृश्य भने पहिलो पटक देखिएको हो।
प्रदेश संसदमा एउटातर्फ गीतमार्फत सरकारको आलोचना र अर्कोतर्फ मातृभाषामै संसदीय संवादको अभ्यासले संसदीय बहसको शैली विस्तारै परिवर्तन भइरहेको पुर्व सासंदहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस