२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

एकै वर्षमा ठूला करदाताले २ खर्ब ४६ अर्ब राजस्व उठायाे

ठूला कर कार्यालयमा एनसेलदेखि युनिलिभर, सुर्य नेपाल लगायतले कराेडाैँ कर दाखिला गरे

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा ठूला करदाताहरूबाट २ खर्ब ४६ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। ठूला करदाता कार्यालयका अनुसार यो संकलन सरकारले निर्धारण गरेको वार्षिक लक्ष्यको ८१.११ प्रतिशत मात्र हो।

वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने ५८५ वटा व्यावसायिक घराना तथा संस्थाहरूलाई 'ठूला करदाता'को सूचीमा राखिएको छ। यस्ता करदाताको कर प्रशासन छुट्टै 'ठूला करदाता कार्यालय'मार्फत हुने गर्दछ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ठूला करदाताबाट २ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन ३.७९ प्रतिशतले वृद्धि भएको देखिए पनि यो समग्र राष्ट्रिय राजस्व वृद्धिदरको तुलनामा न्यून हो। गत आर्थिक वर्षमा मुलुकको समग्र राजस्व ५ प्रतिशतले बढ्दा ठूला कारोबारीहरूको योगदान भने अपेक्षित रूपमा बढ्न सकेन।

कर अधिकारीहरूका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानीमा आएको गिरावट, आयकरमा देखिएको सुस्तता र नियामक निकायहरूको आय घट्नु राजस्व लक्ष्य पुरा नहुनुका मुख्य कारण हुन्। विशेष गरी दूरसञ्चार क्षेत्र (एनसेल लगायत) को व्यवसायमा आएको संकुचन र केही ठूला सरकारी निकायहरूको आम्दानी घट्दा त्यसको प्रत्यक्ष असर ठूला करदाताको राजस्वमा परेको हो।

ठूला करदाताबाट उठ्ने राजस्वमा सबैभन्दा ठूलो हिस्सा आयकरको छ। यस शीर्षकमा १ खर्ब ८७ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएकामा ७७.३९ प्रतिशत अर्थात् १ खर्ब ४४ अर्ब ९० करोड ९० लाख रुपैयाँ मात्र संकलन भएको छ।

मूल्य अभिवृद्धि कर (VAT) ६४ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ९२.३५ प्रतिशत हो। यो अन्य शीर्षकको तुलनामा सन्तोषजनक मानिएको छ।

ब्याज आयमा लाग्ने कर संकलन भने निराशाजनक देखिएको छ। ४१ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको लक्ष्य राखिएकोमा ५०.१९ प्रतिशत अर्थात् २० अर्ब ७५ करोड ३३ लाख रुपैयाँ मात्र उठेको छ।

 आन्तरिक अन्तशुल्कतर्फ भने लक्ष्यभन्दा बढी अर्थात् १६२.९० प्रतिशत (२७ करोड ७७ लाख रुपैयाँ) संकलन भएको छ।

अन्य: शिक्षा करमा ३९ करोड ३४ लाख (८४.४१%) र घरभाडा करमा ४१ करोड ७७ लाख रुपैयाँ (७८.७४%) राजस्व संकलन भएको छ। अन्य फुटकर शीर्षकबाट १२ करोड ९ लाख रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

ठूला करदाताको कारोबारमा आएको सुस्तता र ब्याजदरमा भएको परिवर्तनले सरकारको राजस्व परिचालनमा दबाब सिर्जना गरेको कर प्रशासकहरुकाे भनाई रहेकाे छ ।

ठूला कर कार्यालयमा एनसेलदेखि युनिलिभर, सुर्य नेपाल लगायतले कर दाखिला गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट