काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग उच्चस्तरीय छलफल गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका उपाय तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा व्यापक छलफल हुने जनाइएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुनेछन्।
यस्तै, पुँजी बजारका जानकार प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि छलफलमा सहभागी रहने कार्यक्रम छ।
सरकारले पुँजी बजार र वित्तीय क्षेत्रलाई चलायमान बनाउने उपाय खोजिरहेका बेला प्रधानमन्त्री स्वयंले सम्बन्धित निकाय, व्यवसायी तथा विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्न लागेकाले यस बैठकलाई अर्थतन्त्र र लगानीकर्ताको मनोबलसँग जोडेर हेरिएको छ।
बैठकबाट पुँजी बजारको विकास, लगानीमैत्री वातावरण निर्माण, धितोपत्र तथा बीमा क्षेत्रका विद्यमान समस्या समाधान र आवश्यक नीतिगत सुधारका विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस