२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

विपी र गणेशमानको संघर्ष सम्झेर पार्टीमा काम गरौँ : मन्त्री राणा

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसका कार्यकर्तालाई नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला र गणेशमान सिंहको संघर्ष सम्झेर काम गर्न आग्रह गरेकी छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीको दोस्रो जिल्ला सम्मेलनको आज धनगढीमा उद्घाटन गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस पार्टी आफैँ नेपाली जनताको ठूलो र साझा पार्टी बनेको होइन, यसका पछाडि नेताहरुको ठूलो संघर्ष, त्याग र बलिदान रहेको छ, त्यसलाई हामीले सदा स्मरण गर्नुपर्छ ।’

मन्त्री डा राणाले नेपाली कांग्रेसलाई यहाँसम्म ल्याउन यस पार्टीका नेता तथा अग्रजहरुको ठूलो योगदान र बलिदान रहेको स्मरण गरिन् ।

उनले विपी कोइरालाले पञ्चायतले दिएको त्यो दुःखका बाबजुद पनि पार्टीका लागि आफ्नो जीवन नै बलिदान दिन पछि नपरेको तथा गणेशमान जस्ता योद्धाले काठमाडौँको सम्पन्न परिवारमा जन्मिएर पनि सुख सयल छोडेर आफ्नो जीवन नै पार्टीमा अर्पण गरेको प्रसंग उल्लेख गर्दै पार्टी निर्माणमा उनका यी संघर्षलाई प्रेरणाको रुपमा लिनुपर्ने धारणा राखिन् ।

अहिलेको पुस्ताले सकारात्मक उर्जा, सिर्जनशीलता र मैले समाज र मुलुकका लागि केही गर्छु भन्ने अठोटका साथ लाग्ने र आफूले आँटेको काम सम्पन्न नहुँदासम्म निरन्तर प्रयासरत रहनुपर्ने धारणा पनि राखिन् ।

आफू एनजिओमा काम गरेर पनि नेपाली आमाहरुको स्वास्थ्य, उनीहरुमा सामाजिक न्याय र अधिकारका क्षेत्रमा लागेर काम गर्न वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको प्रेरणा रहेको प्रसंग पनि उनले उल्लेख गरिन् ।

मन्त्री डा राणाले नेपाली कांग्रेसको जीवनमा वर्तमान सभापति शेरबहादुर देउवाको संघर्ष पनि कम नरहेको स्मरण गर्दै सधैँ जनता र पार्टीका लागि काम गर्ने भएकाले नै सभापति देउवा अहिले पनि राजनीतिमा सक्रिय रहेको बताइन् ।

पार्टीमा अरुले धेरै पाए मैले केही पाइन भन्ने भावना कहिल्यै राख्न नहुने बताउँदै कांग्रेस केन्द्रीय सदस्य डा राणाले राजनीति समाजसेवा भएकाले फलको आशा नगरीकनै कर्म गर्न प्रत्येक नागरिक आफैँ जागरुक हुनुपर्ने बताइन् ।

अहिलेका सामाजिक सञ्जालहरुमा जताततै नकारात्मकता मात्र फैलिने गरेको आफूले देखेको र नेपालमा केही हुँदैन, यहाँ केही छैन भन्ने जस्ता भाष्य निर्माण गरिएको उल्लेख गर्दै तर यहाँ सबथोक छ र हामीले यहीँ धेरै गर्न सक्छौँ भन्ने सकारात्मक भावना बोकेर अहिलेको युवा पुस्ताले राजनीति गर्नुपर्ने उनको सुझाव थियो ।

पार्टीमा होस् या सरकारमा, सानो होस् या ठूलो आफूले पाएको भूमिकालाई सकारात्मक रुपले लिएर सफलतापूर्वक सम्पन्न गर्नेतर्फ लाग्नु नै पार्टीका हरेक कार्यकर्ताको कर्तव्य हो भन्दै मन्त्री डा राणाले आफूले पनि सदैव पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट