२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

बिहिवार , बैशाख ४, २०८२

पाल्पा । शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रिय जस्तै बनेका हुन् ।

प्रदर्शनका कारण वार्षिक परीक्षाको नतिजा कार्यक्रम रोकिँदा भर्नासँगै पठनपाठन प्रभावित बनेपछि अभिभावक चिन्तित बनेका छन् । भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सहभागी सरिक हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता बढेको अभिभावक नारायण रेग्मीले बताए ।

“वार्षिक परीक्षाको नतिजा अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएको छैन, भर्ना कहिले खुल्ने हो हामी अन्यौलमा छौँ, निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना चलाइरहेको देख्दा हाम्रो मन आत्तिएको छ”, उनले भने, “सामुदायिक विद्यालयमा कहिलेबाट भर्ना सुरु भई कक्षा सञ्चालन हुने हो रु यो विषयमा हामी अभिभावक चिन्तित छौँ।”

यहाँका सबैजसो सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गरेर काठमाडौँ शिक्षकको प्रदर्शनमा सहभागी हुन पुगेका छन् । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति पाल्पाले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी हुन सामुदायिक विद्यालयका शिक्षकलाई आह्वान गरेको छ ।

पाल्पास्थित विभिन्न सङ्घसङ्गठनका शिक्षक सङ्गठनको हस्ताक्षरसहित विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई अनुरोध गरिएको हो । शिक्षक प्रदर्शनका कारण सामुदायिक विद्यालयको वार्षिक परीक्षाको नतिजा औपचारिक रूपमा सार्वजनिक नभएको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए ।

“औपचारिक रूपमा परीक्षाको नतिजा सार्वजनिक नभए पनि केही अभिभावक तथा विद्यार्थीले शिक्षकसँग सम्पर्क गरेर जानकारी लिनुभएको छ, तर सबै विद्यार्थी, अभिभावक परीक्षाको नतिजाबारे जानकार हुनुहुन्न । प्रदर्शनले परीक्षाको नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित बनेको छ, बुधबारदेखि रामपुरभित्रका सबैजसो सामुदायिक विद्यालय ठप्प जस्तै बनेका छन्, दुईदेखि तीन दिनको अवधिमा रामपुरबाट बसमार्फत शिक्षक काठमाडौँमा प्रदर्शनमा सहभागी हुन जाने गरेका पाएका छौँ”, उनले भने।

भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा नबढ्ने नगर शिक्षा अधिकृत काफ्लेको अनुमान छ । मङ्गलबारसम्म केही विद्यालयले आन्तरिक रूपमा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्य सञ्चालन गरे पनि बुधबारदेखि भने सबैजसो विद्यालय बन्द रहेका उनले जानकारी दिए ।

पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षिक भएका यहाँका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराशा बनाएको काफ्लेको भनाइ छ । उनका अनुसार निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका यहाँका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्यौलमा परेका छन् ।

अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पीरलोले सताएको छ । विद्यालय सञ्चालन नहुदा विद्यार्थी घरमा खेल खेल्ने, मोबाइल, टिभीमा व्यस्त हुन थालेका छन् । खुसी मुद्रामा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय जाने बेला बालबालिका यतिबेला घरमा बसेर, खेलेर समय बिताउने गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट